‘फिल्म हिरोको कारणले मात्र चल्दैन, अहिले हिरोइन पनि सुपरस्टार छन्’: साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनय गरेका चलचित्रहरु बक्स अफिसमा ६० प्रतिशत सफल छन् । उनको करिअरमा आजसम्म ५ वटा चलचित्र रिलिज भएका छन् । जसमा २ वटा असफल, २ वटा सफल र एउटा इनिसियल रुपमा हिट भयो ।

यी सबै कुरा हेर्दा साम्राज्ञीलाई बक्स अफिसमा सफल नायिका मान्न सकिन्छ । उनै, साम्राज्ञीले केही दिन अगाडि पोखरामा आयोजना भएको पत्रकार सम्मेलनमा अहिले आफूलाई हिरो होइन, हिरो र निर्मातालाई आफू चाहिने बताएकी थिइन् ।

चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ बक्स अफिसमा इनिसियल रुपमा हिट भएपछि साम्राज्ञीले फेरि यो कुरा दोहोर्‍याएकी छिन् । उनले भनिन्-‘मलाई सुपरस्टार हिरो मात्र हुन्छन् भन्ने सोचाई नै गलत लाग्छ । निर्माताहरु चलचित्र चल्यो भने नायकका कारणले मात्र चल्यो भन्ने सोच्छन् । तर, यो एकदमै ठूलो भ्रम हो ।’

साम्राज्ञीले अहिले नेपाली चलचित्रमा नायिकाहरु पनि शक्तिशाली रहेको र उनीहरुको कारणले पनि चलचित्र चल्ने गरेको बताइन् । साम्राज्ञीले चलचित्रमा आउन चाहने नयाँ अनुहारलाई भनिन्-‘चलचित्र क्षेत्रमा आउँदा नायक नै सबथोक हो भनेर आफूलाई कमजोर नसोच्नुहोस् । आफूले आफूलाई माथि राखेर विश्वास गर्नुहोस् । म सधै आफूले आफूलाई माथि राख्छु र अरुलाई पनि आफूलाई कमजोर नसोच्न आग्रह गर्दछु ।’

साम्राज्ञीले घुमाउरो भाषामा आफ्नो कारणले पनि चलचित्र चल्ने गरेको खुलाइन् ।

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार