कञ्चनपुर घटनाको छानबिन प्रतिवेदन बुझाइयाे

९ असोज, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि गठित उच्चस्तरीय समितिले मंगलबार गृहमन्त्रीलाई विस्तृत प्रतिवेदन बुझाएको छ । यद्यपि, प्रतिवेदनमा समेटिएका विषयलाई गुपचुपमै राखिएको छ ।

मंगलबार गृहमन्त्रालयमा समितिका संयोजक सह–सचिव हरिप्रसाद मैनालीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई प्रतिवेदन बुझाएका हुन् । तर, यसअघि चर्चा गरिँदै आएको ‘संदिग्ध हत्यारा’ बारे केही सार्वजनिक गरिएन ।

प्रतिवेदन बुझाउँदै गर्दा गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र थापा, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी, प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उप–सचिव वीरेन्द्र केसी लगायतको उपस्थिति थियो ।

प्रतिवेदन बुझाएपछि अनलाइनखबरसँग कुरा गर्दै समितिका सदस्य उप–सचिव केसीले निर्मलाले न्याय पाउनेमा आफू ढुक्क रहेको बताए ।

‘निर्मलाका लागि गर्नुपर्ने काम गरेको छु, सरकारले त्यो प्रतिवेदनमा पेश भएका विषय सार्वजनिक गरोस्’, केसीले भने, ‘मैले देखेको कुरा प्रस्ट लेखेको छु । कानुनको मान्छेले लेखेको कुरा गलत हुने कुरै हुँदैन । मैले जे देखे, त्यो लेखेँ । भोलि मैले लेखेको कुरा हो कि हैन भनेर हेर्नका लागि मसँग प्रतिलिपि छ ।’

उनले निर्मलाको न्यायका लागि आफूले हिजो पनि सम्झौता नगरेको र आज पनि नगर्ने बताए । यद्यपि, उनले प्रतिवेदनमा के कुरा लेखिएको छ, जसले घटनाको रहस्यको पर्दा उघार्छ भन्ने बताउन चाहेनन् ।

यसअघि राजीनामा दिँदै गर्दा उनले घटनाको अपराधी उम्कन सक्ने खतरा भएको दाबी गरेका थिए । तर, प्रतिवेदनमा आफ्नो सम्पूर्ण कुरा लेख्न सक्ने भनेर गृहमन्त्री थापाले नै आश्वत पारेपछि उनले राजीनामा फिर्ता लिएका थिए ।

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार