ओली-प्रचण्डसँग माधव नेपाल रुष्ट, दुबै अध्यक्ष नभएको बेला बोलाए छुट्टै भेला

काठमाडौं, १२ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कायशैलीप्रति वरिष्ठ नेता माधवकुमार नेपाल निकै रुष्ट देखिएका छन् ।

नेता नेपालले पछिल्लो समय पार्टी र सरकार सञ्चालन शैलीप्रति खुलेर आफ्ना असहमति राख्दै आएका छन् । पार्टी नेतृत्वसँग रुष्ट देखिएका नेता नेपालले दुबै अध्यक्ष विदेश रहेका बेला स्थायी समितिको छुट्टै भेला डाकेका छन् ।

बिहीबारको संसद बैठकमा प्रतिपक्षी नेता जस्तै शैलीमा सरकारविरूद्ध प्रस्तुत भएका नेता नेपालले शुक्रबार स्थायी समिति सदस्यहरूसँग छलफल गर्न भेला डाकेका हुन् । नेपालले छलफलको विषय नतोके पनि चियापानका लागि निम्तो दिएको नेकपाका स्थायी समिति सदस्य मणि थापाले जानकारी दिएका छन् ।

‘सबै स्थायी समिति डाक्नु भएको भन्ने खबर छ’, थापा भन्छन्, ‘३ बजेका लागि निम्तो आएको छ, चियापानमा के कुरा हुन्छन् भन्ने अहिले नै भन्न सकिंदैन ।’ स्थायी समिति बैठकमा भइराखेको ढिलाइ र नेकपाको निर्णय प्रक्रियाबारे छलफल कार्यक्रम भए पनि चियपानको नाम दिइएको नेता नेपाल निकट एक सदस्य सुनाउँछन् ।

‘बैठक भन्ने शब्द राख्न मिलेन, परामर्शभन्दा अर्को अर्थ लाग्ला भनेर चियापान भनियो’, ती सदस्यले भने, ‘तर यो दशैं–तिहारको शुभकामना दिने चियापान होइन ।’ नेकपाका अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल देश बाहिर भएका बेला नेता नेपालले डाकेको भेलालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

दुबै अध्यक्ष बाहिर गए पनि कसैलाई कार्यवाहक जिम्मेवारी दिइएको छैन । प्रदेश संयोजक र अध्यक्ष चयन गर्दा अध्यक्षद्वय ओली र दाहालले एकलौटी गरेकोप्रति नेता नेपाल असन्तुष्ट देखिंदै आएका छन् ।

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent