प्रहरीमा सात हजार २५६ जनाकाे भर्ना खुल्ला, यी ठाउँमा बुझाउन सकिन्छ फाराम

काठमाडौं, १५ असोज । के प्रहरी सेवामा रहेर देश र समाजको सेवा गर्ने मन छ ? यदि यसो हो भने तपाईलाई प्रहरी सेवामा प्रवेश गर्ने अवसर जुटेको छ ।

फाइल फोटो
नेपाल प्रहरीले सात हजार २५६ रिक्त दरबन्दीमा भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनोट महाशाखाले प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी जवान, कार्यालय सहयोगीलगायतका पदहरुमा सोमबार भर्ना खुलाएको छ ।

जनपथतर्फ प्रहरी निरीक्षकमा १०८ जना र प्रहरी सहायक निरीक्षकतर्फ ५२४ जना माग गरिएको छ । सबैभन्दा बढी प्रहरी जवानको माग गरिएको छ । मानव स्रोत विकास विभागका अनुसार यो पदमा ६ हजार २४४ जनाका लागि दरखास्त आह्वान गरिएको छ ।

प्रहरी कार्यालय सहयोगी (खेलाडी) पदमा ३० जनाको माग भएको छ । खेलाडीतर्फ फुटबल, भलिबल, क्रिकेट, तेक्वान्दो, भारोत्तोलन, कराँते, जुडो, एथ्लेटिक्स, बक्सिङ, ब्याडमिन्टन र महिला कबड्डी विधामा दरखास्त दिन पाइने छ ।दरखास्त फारम असोज १८ देखि कात्तिक २९ गतेसम्म बुझाउन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदका लागि महानगरीय प्रहरी कार्यालय, रानीपोखरी तथा सात वटै प्रदेश प्रहरी कार्यालयमा फाराम बुझाउने व्यवस्था मिलाइएको छ ।
जवान पदको दरखास्त काठमाडौं, ललितपुर, भक्तपुरसहित सबै जिल्ला प्रहरी कार्यालयहरु तथा प्रदेश प्रहरी कार्यालयमा बुझाउन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent