समृद्ध राष्ट्र र सुखी नेपाली बनाउने प्रतिबद्धता पूरा गरेरै छाड्छाैँ: प्रचण्ड
Pathibhara Channel, News portal from Nepal
Pathibhara Channel
शनिबार, अशोज २७, २०७५
| October 13th, 2018 ब्रेकिंग न्युज, मुख्य समाचार, समाचार

भक्तपुर, २७ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको समृद्ध राष्ट्र र सुखी नेपालीको परिकल्पनालाई साकार पार्न सबै एकताबद्ध भई सङ्कल्पका साथ अगाडि बढ्नुपर्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्वीर : रासस
मध्यपुरथिमिको नगदेशमा नेकपा मध्यपुरथिमि कमिटीले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान एवं तुच्चा कार्यक्रममा बोल्दै उनले अहिले केन्द्रदेखि स्थानीय तहसम्म बलियो र स्थायी सरकार बनेकाले देशलाई समृद्धितर्फ लैजान एक भएर अगाडि बढ्नुपर्ने बताएको हो ।
अहिले देशमा आइपरेका जस्तोसुकै चुनौतीलाई पनि पार लगाउँदै अगाडि जान सकिने बताउँदै उनले विकास निर्माण, सुशासनका क्षेत्रमा गर्नुपर्ने काम धेरै भएकाले त्यसमा केन्द्रित भएर अगाडि बढ्नुपर्ने बताए ।
उनले नेपालले दुई छिमेकी चीन र भारतसँग सम्बन्ध अझ विस्तार गरी धेरै लाभ लिनसक्ने अवसर रहेको उल्लेख गरे ।
नेपालमा पर्यटन, खानी, पानीलगायतका प्राकृतिक सम्भावना प्रशस्त भएपनि राजनीतिक अस्थिरताले देश पछाडि परेको बताउँदै अध्यक्ष दाहालले अब मुलुकलाई समृद्धितर्फ लैजाने समय आएको बताए ।
चुनावमा जनतामाझ जाँदा गरेका प्रतिबद्धता सरकारले पूरा गर्ने बताउँदै अध्यक्ष दाहालले भने,‘जनताको सुशासन, भ्रष्टाचार, महङ्गी नियन्त्रण, बृद्धभत्ता बढाउने कुरा, निर्वाचनका बेलामा जे–जे प्रतिबद्धता गरिएको थियो, त्यसलाई सम्बोधन हुने गरी सरकारले अब काम गर्छ ।’ एक प्रसङ्गमा उनले दशैँलगत्तै तल्लो तहसम्म पार्टी एकता पूरा गर्ने बताए ।
काठमाडौँका खाल्डाखुल्डी पुर्ने र जनताको आकाङ्क्षा पूरा गर्नेबारेमा प्रधानमन्त्री र पार्टीको सचिवालयमा आफ्नो छलफल भइरहेको बताउँदै उनले भने,‘काठमाडौँ उपत्यकाका सडकका खाल्डाखुल्डी पुर्ने सङ्कल्प वर्षाका कारण पूरा नभएको तर अब नयाँ वर्ष अगाडि नै उपत्यकाका मूल सडक कालोपत्र गरिसक्ने छौँ, काठमाडाँैलाई विकासको दृष्टिकोणले सभ्यताको नयाँ चरणमा प्रवेश गराउने सङ्कल्प हामीले गरेका छाँै, त्यो पूरा गर्छौं ।’
विकास निर्माणलाई गति दिनेबारे समीक्षा शुरु गरेको बताउँदै उनले अब सम्बोधनको प्रक्रियालाई पनि तीव्रताका साथ अगाडि लैजाने प्रतिबद्धता व्यक्त गरे । कम्युनिष्ट पार्टीको एकता र दुईतिहाइको सरकार बन्दा देशले धेरै उपलब्धि हासिल गरेको बताउँदै उनण्ले भने,‘सन् १९५० को सन्धिलगायत नेपाल–भारत सम्बन्धका विविध विषयमा समीक्षा गरेर सहमतिबाट एउटा प्रतिवेदन तयार भएको छ, त्यो प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीलाई बुझाउने तयारीमा छाैँ ।’
कार्यक्रममा नेकपा मध्यपुर नगर कमिटीका अध्यक्ष एवं मध्यपुरथिमि नगरपालिका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुरथिमिको विकासलाई तीब्रता दिने बताए ।