जीतपुरसिमरा उपमहानगरपालिका ४ औराहमा आफ्नो दुई छोरालाई झुण्ड्याएर बुबा सुरेन्द्रले समेत आत्महत्या गरेका छन् ।
आइतबार बिहान करिब ६ बजे औराहस्थित शान्तिटोलका ४२ बर्षका सुरेन्द्र रामले पाच वर्षका छोरा सुविन र तीन वर्षका छोरा विपिनलाई झुण्ड्याएर हत्या गरेपछि आफूले पनि झुण्डिएर आत्महत्या गरेका हुन् ।
दुई छोरा र सुरेन्द्रलाई घरको कोठामा झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयबाट सूचना पाएपछि इलाका प्रहरी कार्यालय सिमराबाट पुगेको प्रहरीले तीनै जनाको शव शल्य परीक्षणका लागि वीरगञ्ज पठाएको छ ।
सुरेन्द्रले मदिरा सेवन गरी सडकमा होहल्ला गर्ने गरेको हामीले नै भेटेका छौं, यद्यपि घटनाबारे यसै भन्न सकिने अवस्था छैन’, प्रहरी निरीक्षक हमालले भने, ‘हामी अनुसन्धानमै छौं ।’
विगतमा पनि झगडा गरेकै कारण उनलाई कार्यालयमा ल्याएर सम्झाएर पठाउने गरिएको प्रहरी निरीक्षक हमालले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुभाष हमालले शव शल्य परीक्षणका लागि पठाएको र घटनाबारे थप अनुसन्धान भइरहेको बताए । प्रहरी निरीक्षक हमालका अनुसार सुरेन्द्रमाथि यसअघि पत्नीको हत्या गर्ने प्रयासमा कारवाही गरिएको थियो ।
सोमबार उनकी आमा मोनियाले इलाका प्रहरी कार्यालय सिमरामा छोराको मृत्युबारे लिखित जाहेरी दिइकी छन् ।
सधैंजसो मदिरा सेवन गरी घरमा आउने सुरेन्द्रले पत्नीलाई सधैजसो कुट्ने गरेका थिए । श्रीमानको सधैंको कुटाई र टोकसोकै कारण उनकी श्रीमतीले पनि उनलाई छाडेको करिब एक बर्ष बढी भयो ।
पत्नीले छोडेर गएपछि सुरेन्द्र आफ्नो दुई छोरासंग घरमा बस्दै आएका थिए । सुरेन्द्रले आफ्नी आमा मोनिया रामलाई समेत कुटपिट गर्ने गरेका थिए । आफ्नी आमालाई ज्यान मार्ने उद्योगमा उजुरी पनि खेपिसकेका ब्यक्ति हुन् । छोराले कुट्न थालेपछि उनकी आमासमेत संगै बस्दिनथिन।



