माछा मार्ने जात्रा

काठमाडौँ — परम्परागत मेला र जात्रा थरीथरीका छन् ।तनहुँको भिमाद मालेबगरमा बर्सेनि तीन दिन नौलो प्रकारको जात्रा हुन्छ, त्यो हो माछा मार्ने जात्रा ।

तनहुँको भिमाद–५ मालेबगर कुलोमा माछा मार्ने जात्रामा सहभागी स्थानीय । तस्बिर : प्रताप/कान्तिपुुर

चार दशकदेखि वर्षको एकपटक हुने जात्रा स्थानीयका लागि माछा समात्दै हिलो छ्यापाछ्याप गर्दै मनोरञ्जन लिने गरेका छन् । धान पाकेपछि यो जात्रा हुने गरेको मालेबगर सिँचाइ जलउपभोक्ता समिति अध्यक्ष चन्द्रकान्त भुजेलले बताए ।

‘धान पाकेपछि केही दिन कुलो सुकाइन्छ, यही बेला जात्रा हुने हो,’ उनले भने, ‘उपभोक्ताको भेला बोलाएर यही बेला वर्षभरिको सिँचाइ र बालीको अवस्थाबारे समीक्षा पनि गरिन्छ ।’ सुकाएको कुलोमा गरिने जात्रामा सहभागी भएर माछा समात्न भीड लाग्छ । माछा मारेको हेर्न पनि भीड हुने गरेको छ ।

थकौली, ढडिया, डोको र जाल थापेर जात्रामा माछा मार्ने गरिएको स्थानीय मनोज आलेले बताए । ‘जात्रामा सेर्का, माझकोट, आम्डाँडा, मिछुर्लुङ, खेक्रेटार, मालेबगर, भिमाद, र छाङपाटनबाट गाउँले आउँछन्,’ उनले भने, ‘तीन दिने जात्रामा माछा मार्दा कुनै शुल्क लाग्दैन ।’ बुदुवा खोला र कुलोमा माछा मार्नेको भीड लाग्ने गरेको छ ।

दुईदेखि तीन सय जनासम्म माछा मार्न सहभागी हुने गरेका छन् । ‘पोहोर परारसम्म पनि एक जनाले ६ देखि १० किलोसम्म माछा मार्थे,’ स्थानीय नरवीर थापाले भने, ‘अहिले खासै माछा पाइँदैन । विष हाल्ने र करेन्ट लाएर मार्नेले सिध्याए ।’ जात्रा मनोरञ्जनमात्र नभएर धान भित्र्याउने समयको जानकारी दिने पनि समय रहेको उनले बताए ।

जात्रामा सहभागीमध्ये धेरैले भेला पारेका माछा भिमाद बजारमा बेच्छन् । माछा मार्न महिला, पुरुष र बालबालिका सहभागी हुन्छन् । प्रति केजी सात सय रुपैयाँ सम्ममा किनबेच हुने माछाबाट धेरैले राम्रो आम्दानी पनि गर्छन् । खोला र कुलोका माछा स्वादिला हुन्छन् । खोलामा भोटी, बाम र भित्ते माछा पाइन्छन् । हातहातै बिक्री हुने भएकाले सहभागीबाट खरिद गर्न व्यापारी जात्रा स्थलमै पुग्छन् ।

यसपटक खोला र कुलोमा माछा धेरै नभेटिएको जात्राका सहभागीले बताएका छन् । १ सय १२ घर उपभोक्ताले मालेबगरमा बाँध बनाई सिँचाइ गर्दै आएका छन् । सिँचाइ आयोजनाले ४ सय ३५ रोपनी जग्गा सिञ्चित हँुदै आएको छ । यही आयोजनाको कुलोमा यसपटक पनि जात्राका सहभागी माछा खोज्न पसेका थिए ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent