कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

महोत्तरी पुगेर मन्त्री पोखरेल र महासेठले गरे रेलवेको अनुगमन

१७ कात्तिक, महोत्तरी । शनिबार महोत्तरी आएका दुई मन्त्रीले यहाँको रेलवेको अनुगमन गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ बर्दिवास–३ गौरीडाँडामा बर्दिवास नगरका बासिन्दासँगको रेल्वे जग्गाको मुआव्जा निर्धारणबारेको छलफलमा पनि सहभागी भए ।

भेलामा मन्त्री महासेठले रेल्वेका लागिको जग्गाको मुआव्जाको बिषय जग्गा बेच्न ग्राहकसँग मोलमोलाइ गर्ने तरिकाले नभइ मेरो ठाउँमा राष्ट्रिय गौरवको महत्वपूर्ण काम हुँदैछ र म त्यसमा सहभागी हुँदैछु भन्ने सोचले गर्न जग्गाधनीलाई आग्रह गरे ।

बर्दिवास–जयनगर रेल्वेको ६९ किलोमिटर दुरीमध्ये भङ्गाहाको बिजलपुरादेखि बर्दिवाससम्मको १८ किलोमिटर दुरीभित्र पर्ने रेलका लागि रोक्का गरिसकिएको १५७ बिघा जग्गाको मुआव्जा निर्धारण हुन बाँकी छ । मन्त्रीहरुको यो अनुगमन निरीक्षणमा रेल्वे विभागका महानिर्देशक बलराम मिश्रसहितका अधिकारीको पनि सहभागिता थियो ।

अनुगमनपछि भंगाहा नगरपालिकाको सीतापुर बजारमा आयोजित कार्यक्रममा मन्त्री महासेठले अबको दुई बर्षभित्रै महोत्तरीको बर्दिवासदेखि जनकपुर हुँदै जयनगरसम्मको ब्रोडगेज रेल सेवा सञ्चालन भइसक्ने बताए ।

‘धनुषाको कुर्थादेखि जयनगरसम्मको रेल सेवा त यही आउने मङ्सिरभित्रै सञ्चालन हुनेछ,’ मन्त्री माहासेठले भने, ‘कुर्थादेखि भङ्गाहाको बिजलपुरामा पाँच महिनाभित्र र भङ्गाहाबाट बर्दिवाससम्म २०७७ को मंसिरभित्रै रेल सेवा सञ्चालन भइसक्ने छ ।’

यद्यपी भङ्गाहाको बिजलपुरादेखि बर्दिवाससम्मको जग्गा मुआव्जाको कुरा नटुङ्गिएकाले काम गतिमा बढाउन समस्या भएको मन्त्री महासेठको भनाइ थियो । मुआव्जाबारे तत्काल सिफारिस गरि पठाउन जिल्लाका प्रमुख जिल्ला अधिकारी नेतृत्वको जग्गा मुल्याङ्कन समिति र स्थानीय तहका प्रमुखहरुलाई मन्त्री महासेठले निर्देशन दिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेलले बर्तमान सरकार मुलुकको समृद्धि अभियानलाई केन्द्रमा राखेर अघि बढेको बताए । अब मुलुकमा माध्यमिक तहको शिक्षालाई सीपमुखी बनाउन यसै शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम बनाइएको मन्त्री पोखरेलको भनाइ छ ।

‘तपाईंहरु पनि आफ्ना ठाउँका माध्यमिक बिद्यालयमा कुन बिषयको ब्यावसायिक शिक्षाको पठनपाठन गराउने हो, सल्लाहमा जुट्नुहोस्’ स्थानीयलाई उनले भने, ‘अब परम्परागत शिक्षाले समृद्धि अभियान अघि बढ्न सक्दैन ।’

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार