सरकार भ्रष्टाचार र कमिसनको खेलमा : नेता विश्वकर्मा

काठमाडौँ — नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्माले सरकार भ्रष्टाचार र कमिसनको खेलमा मात्र लागेको आरोप लगाएका छन् ।

पार्टी पुनर्गठनको पाँचौं वर्षगाँठको अवसरमा शनिबार काठमाडौंको प्रदर्शनीमार्गमा आयोजित सभालाई सम्बोधन गर्दै नेता विश्वकर्माले सत्तामा रहेकाहरु राज्यको ढुकुटी रित्याएर निजी बनाउने खेलमा लागेका आरोप लगाए । सरकारले ल्याएको सुखी नेपाली, समृद्ध नेपालको नारा जनतालाई बेबकुफ बनाउने खेल मात्र भएको पनि उनले टिप्पणी गरे ।

कम्युनिस्ट नेतृत्वको सरकारलाई मजदुर, किसान र उद्योगी/व्यवसायी, सहिद परिवारको चिन्ता नहुन दुखद् भएको उनको भनाइ थियो । राष्ट्रिय व्यवसायी टाट पल्टने अवस्थामा पुगेको बेला सरकारले समृद्धि ल्याउँछु भन्नु खोक्रो नारामात्रै भएको उनले बताए । केपी ओली नेतृत्वको सरकारले साँच्चै समृद्ध ल्याउने हो भने सुरुआत मात्रै गर्नु ठूलो कुरा हुने नेता विश्वकर्माले बताए ।

नेता विश्कर्माले ९ महिनाको अवधिमा भ्रष्टाचार, महँगी नियन्त्रण, सामाजिक सुरक्षालगायत विषयमा सरकार असफल भएको बताए । साउन १० गते कञ्चनपुरमा भएको बालिका बलात्कारपछि हत्या घटनाका दोषीलाई पक्राउ नगरिएको भन्दै उनले रोष प्रकट गरे । निर्मला पन्त घटनामा सरकार पक्षकै सामेल भएकाले दोषीलाई बचाइएको भन्दै नेता विश्वकर्माले आफ्नो पार्टीले निर्मला बलात्कार र हत्या घटनामा संलग्नलाई समाएर कारबाही गर्ने चेतावनी दिए ।

प्रधानमन्त्री केपी ओलीले सत्ताको बागडोर सम्हालेदेखि नै ‘म भ्रष्टाचार गर्दिनँ । भ्रष्टाचार गर्नेलाई छाड्दिनँ’ भन्ने प्रतिबद्धता जनाएको स्मरण गर्दै नेता विश्वकर्मा वाइडबडी विमान खरिदमा पर्यटन मन्त्रालयमा भएको भ्रष्टाचारमा सरकार मुकदर्शक बनेको आरोप लगाए । उनले नेपाल वायुसेवा निगममार्फत झन्डै २५ अर्बमा विमान किन्दा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितकाले करिब ६ अर्ब भ्रष्टाचार गरेको आशंका गरे ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार