बिग बास डेब्यूमै लिए सन्दीपले दुई विकेट

काठमाडौं । अस्ट्रेलियाको बिग बास लिगमा डेब्यू गरेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले शुक्रबार प्रतियोगिताको आफ्नो पहिलो खेलमा सिड्नी थन्डरविरुद्ध पहिलो ओभरमै २ विकेट लिएका छन् ।
आठौं ओभरमा बलिङ गर्न आएका सन्दीपले दोस्रो बलमै पहिलो विकेट लिएका थिए । पहिलो बलमा १ रन दिएका सन्दीपले दोस्रो बलमा सेन वाट्सनलाई निक लार्किनमार्फत् क्याच गराएका थिए । सन्दीपले आफ्नो पहिलो ओभरको अन्तिम बलमा कलुम फर्गुसनलाई कट एन्ड बोल्ड गरेका थिए । सन्दीपले पहिलो ओभरमा ३ रन दिएर २ विकेट लिएका छन् ।
८ ओभर सकिँदा सिड्नी ३ विकेट गुमाएर ५९ रन बनाएर खेलिरहेको छ । पहिलो विकेट मेलबर्नका एडम जम्पाले लिएका थिए ।
क्यानबेराको मनुका ओभलमा सन्दीपको टोली मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका थिए । बिग बास लिग खेल्ने सन्दीप एसोसिएट राष्ट्रका पहिलो खेलाडी हुन् । इन्डियन प्रिमियर लिगदेखि टि—१० लिगसम्मका हरेक प्रतियोगितामा सन्दीपले आफूलाई प्रमाणित गरिसकेका छन् । आईपीएलका तीन खेलमा ५ विकेट लिएका सन्दीपले टि–१० लिगमा केरला नाइट्सबाट ६ विकेट लिएका थिए ।
गतवर्ष उनले दिल्ली डेयरडेभिल्सबाट खेल्दै विश्व क्रिकेटकै सबैभन्दा ठूलो ट्वान्टी–२० प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने पहिलो नेपाली खेलाडीका रुपमा कीर्तिमान बनाएका थिए । यसपालिदेखि नाम परिवर्तन गरेर दिल्ली क्यापिटल्स भएको क्लबले यसपालिका लागि पनि सन्दीपलाई रिटेन गरेको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार