
काठमाडौं, पुस १९ । टीकापुर घटनाका कारण चर्चामा रहेका रेशम चौधरीले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको एक वर्षपछि सांसदको सपथ लिंदै फेरि कारागारमै पुगेका छन् ।
कैलाली क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद रेशमकुमार चौधरीलाई सिंहदरबारमा सपथ खुवाए लगत्तै डिल्लीबजारस्थित सदर खोर लगिएको छ ।
टीकापुर हत्याकाण्डमा हाल डिल्लीबजारस्थित सदरखोरमा पुर्पक्षका लागि जेलमा रहेका चौधरीलाई राजपा नेपालको दवावमा पद तथा गोपनियताको सपथ दिलाइएको हो ।
सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सभामुख कृष्णबहादुर महराले चौधरीलाई पद तथा गोपनियताको सपथ दिलाएका थिए । सपथसँगै संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले चौधरीलाई सांसदको गोलो लगाई दिएका थिए ।
चौधरीले थारु भाषामा सपथ लिएका थिए । सपथपछि सभामुख महराले सांसद चौधरीलाई फूलमाया लगाई दिए भने त्यहाँ पुगेका राजपाका नेताहरुले पनि उनलाई बधाई दिंदै फूलमाला लगाई दिएका थिए ।
२०७२ भदौ ७ गते टीकापुरमा भएको घटनामा ७ जना प्रहरीसहित ८ जनाको ज्यान गएको थियो । सो घटनामाको मुख्य योजनाकारका रुपमा चौधरीलाई लिइएको छ । घटनापछि फरार चौधरीले सार्वजनिक नभईकनै वारेसनामामार्फत प्रतिनिधि सभामा उम्मेद्वारी दिई विजयी भएका थिए ।
तर उनले निर्वाचित भए पनि सपथ लिन पाएका थिएनन् । गएको असारमा उनले जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए । त्यसपछि पुपक्र्षका लागि जेल चलान भएका हुन् ।



