निर्मलाको हत्यारा खोज्न निस्किएको सिआइबी टोलीलाई सुन समात्नै भ्याई-नभ्याई, फेरि ५ किलो सुन बरामद

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) सहितको कञ्चनपुर प्रहरीले फेरि पाँच किलो सुन बरामद गरेको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथ बस्तीमा दिउँसो मात्र सिआइबीसहितको प्रहरी टोलीले जमिनमा खाल्डो खनेर लुकाई राखेको अवस्थामा ९ करोड मूल्य बराबरको १८ किलो सुन बरामद गरेको थियो ।

सिआइबीसहितको कञ्चनपुर प्रहरीले थप ५ किलो ६ सय ग्राम सुन बरामद गरेको जनाएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथ बस्तीमा दिउँसो १८ किलो सुन बरामद गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) सहितको टोलीले बिहीबार राति थप सुन बरामद गरेको हो ।

दिउँसो सुनसहित पक्राउ परेका लक्ष्मण तिरुवाको घरबाट थप ५ किलो ६ सय ग्राम सुन बरामद गरिएको कञ्चनपुरका एसपी कुवेर कडायतले जानकारी दिएका छन् । पक्राउ परेका तिरुवा दाजुभाइलाई सोधधपुछ गर्ने क्रममा थप सुन बरामद भएको प्रहरीले जनाएको छ ।

शुक्लाफाँटा नगरपालिका–११ घर भएका लक्ष्मण तिरुवाले घरमा लुकाएको अवस्थामा थप सुन बरामद भएको हो । बरामद गरिएको सुन जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा राखिएको छ ।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या अनुसन्धान र हत्यारा पत्ता लगाउने अभियानमा खरिटएको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआइबी) लाई अहिले सुन समात्न नै भ्याई–नभ्याई भएको छ । प्रहरीले भारतबाट तस्करी गरी सुन ल्याइएको हुनसक्ने अनुमान गरेको छ ।

प्रहरीका अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ घर भई भारतमा चालकको काम गर्दै आएका लक्ष्मण तिरुवाले सुन ल्याएर भाइ सुरजलाई दिएका थिए । सुरज नेपाल प्रहरीका जवान हुन् । सुरजले सुन ससुराली घरमा राखेको सूचना पाएपछि प्रहरी त्यहाँ पुगेको थियो । सुरज जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत छन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार