कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

निर्मला प्रकरण : पूर्व डीएसपी सेट्ठीसहित ६ प्रहरी पक्राउ, विदेश जानेहरु निगरानीमा

काठमाडौं, २३ फागुन । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा केही महिनाअघि मात्र अवकास पाएका प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञानबहादुर सेट्ठीसहित ६ जना पक्राउ परेका छन् ।

बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गर्नुअघि प्रतिवादी सेट्ठी, इन्सपेक्टर एकेन्द्र खड्का र चाँदनी साउदसहित ६ जनलाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता (एसएसपी) उत्तमराज सुवेदीले जानकारी दिएका छन् ।

कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टसहित ८ जनाले निर्मलाको बलात्कार–हत्या प्रकरणसँग सम्बन्धित प्रमाण नष्ट गरेको र असम्बन्धित मानिसहरुलाई शारीरिक तथा मानसिक यातना दिएको भन्दै मुद्दा दर्ता भएको थियो ।

यातना र प्रमाण नष्टसम्बन्धी मुद्दाको अनुसन्धान सकेर अदालतमा मुद्दा बुझाउने क्रममा संलग्न प्रतिवादीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता सुवेदीले बताए । तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख (एसपी) विष्ट चाहिँ पक्राउ परेका छैनन् ।

निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टको जाहेरीका आधारमा जिल्ला प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा मुद्दाको फाइल बुझाएको छ ।
खड्ग विष्टले आफ्नो भाइलाई पक्राउ गरेर यातना दिएको भन्दै तत्कालीन डिएसपी सेट्ठी, केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी अंगुर जिसी, इन्सपेक्टर एकेन्द्र खड्का विरुद्धमुद्दा दायर गरेका थिए ।

निर्मलाकी आमा दुर्गादेवीले प्रमाण नष्ट गरेको अभियोगमा तत्कालीन वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर जगदीश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद बिरुद्ध मुद्दा दायर गरेकी थिइन् ।

सरकाले प्रहरी उपरीक्षक (एसपी) विष्ट र इन्सपेक्टर भट्टलाई सेवाबाट बर्खास्त गरेको थियो भने अन्य ६ जना निलम्बनमा छन् । २०७५ साउन १० गते निर्मला पन्तको शव उखुबारीमा फेला परेको थियो ।

विदेश जानेहरुको निगरानी र लगत संकलन
विभिन्न समिति गठन र लामो समयको अनुसन्धानपछि पनि निर्मला हत्याको सुइँकोसम्म फेला पर्न नसकेपछि प्रहरीले अहिले घटना अनुसन्धानको अर्को रणनीति अपनाएको छ । प्रहरीले निर्मलाको घर आसपासका युवा र नातेदारहरुमाथि निगरानी बढाएको छ ।

प्रहरीले गाउँभरका युवाहरुको लगत संकलन गर्नुका साथै विदेश गए–आएको जानकारी संकलन गरिरहेको समाचार स्रोतले जानकारी दिएको छ । निगरानीमा रहेकाहरुको कल डिटेल समेत अध्ययन भइरहेको जनाइएको छ । निर्मलाको बलात्कारपछि गाउँ छाडेकाहरुको बारेमा जानकारी लिने काम भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार