रेशम चौधरीको रिहाइको माग गर्दै बाबुरामले भने, ‘विप्लवलाई एक्ल्याउनु पर्थ्याे’

काठमाडौं, ४ चैत । नयाँ शक्ति पार्टी नेपालले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने सरकारको निर्णय हतार र अपरिपक्व रुपमा आएको औंल्याएको छ ।

विप्लवको गतिविधिलाई निस्तेज पार्ने विकल्पहरु नहेरीकन सरकारले प्रतिवन्ध लगाउन हतारमा निर्णय लिएको नयाँ शक्तिले बताएको छ । सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै संयोजक डा. बाबुराम भट्टराईले भने, ‘विप्लव समूहलाई वैचारिक राजनीतिक ढङ्गले जनताबाट एक्ल्याउनु पर्नेमा प्रतिबन्ध गरेर सरकारले गल्ती गर्‍यो ।’

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले राज्यको शक्ति र स्रोतलाई पार्टीगत स्वार्थमा दोहन गरिरहनु र विप्लव नेतृत्वको नेकपाले क्रान्तिबारे रोमाञ्चक जडधारणा र उग्रवामपन्ती ध्वंसात्मक चिन्तनबाट ग्रसित हुनु शान्ति, सुशासन, विकास र समृद्धिको चाहना विपरीत भएको नयाँ शक्तिले बताएको छ ।

सत्तारुढ नेकपाले विप्लवको पार्टीलाई लुटेरा भन्नु नैतिक रुपमा पनि नमिल्ने संयोजक भट्टराईले बताए । ‘राज्य आफैले लुटतन्त्रलाई संस्थागत गरिरहेको अवस्थामा विद्रोही शक्तिलाई लुटेरा चित्रण गर्ने नैतिक तथा राजनीतिक अधिकार कमजोर हुन्छ’ नयाँ शक्तिले भनेको छ ।
रेशम चौधरीको रिहाइको माग

नयाँ शक्ति पार्टी नेपालले टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय सुनाइएका रेशम चौधरीलाई अविलम्ब रिहा गर्न माग गरेको छ । टीकापुर घटना राजनीतिक विद्रोह भएको बताउँदै यसलाई आपराधिक घटनाका रुपमा ब्यवहार गर्नु अन्यायपूर्ण भएको नयाँ शक्तिको भनाइ छ । ‘अतः टीकापुर विद्रोहलाई राजनीतिक रुपले नै सम्बोधन गरिनुपर्छ र माननीय रेशम चौधरीलगायत सबै अविलम्ब रिहा हुनुपर्छ’, नयाँ शक्ति पार्टीले भनेको छ ।

प्रदेश रचनाको मोडलमा विमति राख्ने उत्पीडित थारु समुदायको राजनीतिक विद्रोहको सोही क्षेत्रबाट रेशम चौधरी निर्वाचित भएपछि जनअनुमोदन भएको पनि नयाँ शक्ति पार्टीले बताएको छ ।

विगतमा देशमा अनेक राजनीतिक विद्रोह, हिंसा र क्रान्तिहरुलाई राजनीतिक ब्यवहार गरे पनि टीकापुर घटनालाई मात्र आपराधिक रुपमा हेर्न नहुने नयाँ शक्तिले बताएको छ । डा. भट्टराईले सरकारले सिके राउतलाई अनावश्यक महत्व दिएको पनि बताएका छन् । ‘सिके राउतलाई सरकारले यसरी प्रस्तुत गर्‍यो कि मानौं उनी गौतमवुद्ध र पृथ्वीनारायणपछिको एक मात्र व्यक्तित्व हुन्’ उनले भने ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार