चिकित्सकलाई बिरामीको प्रश्न : दोहोरो पीडा कहिलेसम्म ?

काठमाडौं, २७ चैत । नेपालको संविधानले मौलिक हक अन्तर्गत राखेको अत्यावश्यक स्वास्थ्य सेवालाई नै असर पर्ने गरी सरकारी चिकित्सकले गरेको आन्दोलनका कारण अस्पताल आएका बिरामी उपचार नपाएर प्रभावित भएका छन् ।

रोगको पीडामा पिल्सिनु परिरहेका बेला बिरामीले भगवान् मान्ने चिकित्सक आफैँ आन्दोलनमा उत्रिएर दोहोरो पीडा दिएको भन्दै उनीहरुले चिन्ता प्रकट गरेका छन् । बिरामीले उपचार नपाएर रोगले च्याप्दै गएको बताएका छन् भने कतिपयले आफूहरु उपचार नपाएर नै मर्ने हो त ? भनेर चिकित्सकसँग प्रश्न समेत गरेका छन् ।

थाइराइडको उपचारका लागि आएका गोरखाको पालुङटार नगरपालिका–३ डुम्रेडाँडाका जीवरायल मियाँलाई पनि चिकित्सकको आन्दोलनले पीडा थपेको छ । उनलाई केही दिनदेखि थाइराइड बढेर स्वास्थ्यमा असहज भयो । शरीर केही मोटाए जस्तो र सुन्निए जस्तो भयो । त्यसपछि उनीले नियमित उपचार गराउँदै आएका वीर अस्पतालका चिकित्सक दीपक मल्लसँग यसपाली भेट्न सकेनन् ।

सङ्घअन्तर्गत आफूहरुलाई राख्नुपर्ने माग राखेर सरकारी चिकित्सक विगत चार दिनदेखि आन्दोलनमा उत्रिएपछि उपचार सेवा नपाएका मियाँ जस्ता धेरै बिरामी मंगलबार दिउँसो वीर अस्पतालमा सुस्ताउँदै गर्दा भेटिएका थिए ।

उपचार गर्न नपाएपछि सिधै प्रयोगशालामा गएर सम्बन्धका आधारमा रगत परीक्षण गराएका मियाँले निजी असपतालमा गएर रिपोर्ट देखाउने योजना बनाएका छन् । मियाँले भने, ‘रगत परीक्षणमा त दिएँ अब रिपोर्ट देखाउन अर्काे चिकित्सककोमा जानुपर्ने छ, एक त बिरामी भएको पीडा, अर्काे उपचार नपाउने, दोहोरो पीडामा त पार्नु भएन नि ।’

नजिकै रहेका अन्य बिरामी र तिनका आफन्तहरु सरकारी चिकित्सकलाई गाली पनि गर्दै थिए । उनीहरु आपसमा कुराकानी गर्दै सरकारी तलब खाएर बिरामीको स्वास्थ्यमा खेलबाड गर्ने चिकित्सकलाई कारवाही गर्नुपर्ने बताउँदै थिए । केही पहुँच हुनेहरुले त भनसुनका आधारमा र चिकित्सक भेटेर उपचार लिएका दृष्य वीर अस्पतालमा देखिन्थ्यो । तर पहुँच नहुने गरीब, पिछडिएका समुदायल भने अस्पतालको गेट कुरेर बस्न बाध्य थिए ।

अस्पतालको टिकट काउन्टरको विश्राम कक्षमा असरल्ल अवस्थामा देखिन्थे बिरामीहरु । टिकट नै काट्न नपाएका कतिपय बिरामी मलिन अनुहार लिएर फर्किएका थिए भने कतिपय उपचार पाइहालिन्छ कि भनेर अस्पतालको गेट कुरेर बसेका थिए ।

खुट्टा सुन्निएर उपचारका लागि मकवानपुर फाखेलबाट आएका जीतबहादुर बलको पीडा पनि उस्तै थियो । उनले मंगलबारको दिन वीर अस्पतालको टिकट काउन्टरको विश्राम कक्षमा बसेर बिताए । दुखेसो पोख्दै उनले भने, ‘जाँच्न आएको डाक्टरै फेला परेन, बन्द छ भन्यो, फेरि भोलि आउने ।’

काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा पनि मंगलबार अवस्था उही थियो । अस्पतालमा आएका बिरामीमध्ये आकस्मिक र कुकुरले टोकेकाको बाहेक अरु बिरामीले टिकट काट्न पाएनन् । उनीहरु त्यसै फर्किन बाध्य भए ।

पुनः परीक्षणका लागि आएका बिरामी भने अस्पतालको आकस्मिक कक्षमा टोलाइरहेका थिए । केहीले अस्पताल परिसरमा भेटिएका चिकित्सकलाई रिपोर्ट देखाउँदै थिए भने अधिकांश बिरामी उपचार नै नपाइ फर्किएका थिए । आकस्मिक कक्षमा भने उपचार हुँदै गरेको देखिन्थ्यो ।

कुलेश्वरबाट उपचारका लागि आएकी रेशा लिम्बूको हात र खुट्टामा समस्या भएपछि उपचारका लागि आएकी थिइन् । तर अस्पतालले उनलाई टिकट दिएन । ‘उपचारका लागि आएको, अनिश्चितकालका लागि बन्द छ भन्यो’, अस्पताल जस्तो संवेदनशील क्षेत्र बन्द गरेर हुन्छ ?’ उनले प्रश्न गरिन् ।

‘बन्द कुनै हालतमा हुनु हुँदैन, कस्तो जटिल अवस्थामा बिरामी आएका हुन्छन्, यसरी आन्दोलन गर्नु चाहिँ राम्रो भएन’, लिम्बूले थपिन् । सोधपुछका लागि कतिपय बिरामीलाई काउन्टरबाटै आकस्मिक कक्षमा जान कर्मचारी सल्लाह दिँदै थिए । काठमाडौँको प्रसूति गृह, महाराजगञ्जस्थित शिक्षण अस्पताललगायत मुलुकका सरकारी अस्पताल चिकित्सकको आन्दोलनका कारण प्रभावित भएका छन् ।

यसअघि नै चिकित्सकले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए । माग सम्बोधन गर्ने सरकारी प्रतिबद्धता आएको भन्दै उनीहरुले गत फागुन १८ गते आन्दोलन स्थगन भएको घोषणा गरेका थिए ।

असमान तरिकाले चिकित्सक समायोजन गरेको लगायतका माग राख्दै यही चैत २० गतेको आकस्मिक भेलाले २१ गतेदेखि सञ्चालन गर्ने गरी चिकित्सकले आन्दोलनको घोषणा गरेका हुन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार