ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, ट्रिपर जलाइयो

नुवाकोट — पासाङ ल्हामु सडकअन्तर्गत गंगटे-त्रिशूली खण्डमा पर्ने विदुर नगरपालिका-२ बट्टार र गंगटे बजारको बीचमा शुक्रबार ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बा ५ ख २८९८ नम्बरको ट्रिपरले ना ३३ प ३४४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा विनपा-२ का २२ वर्षीय दिवाकर खनालको मृत्यु भएको हो । ठक्करबाट २४ वर्षीय मुन्ना गुप्ता घाइते भएका छन् ।

घाइतेको स्थानीय निजी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी कृष्णबहादुर पल्लीमगरले बताए । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोटरसाइकल चालक खनालको मृत्यु भएपछि आक्रोशित स्थानीयले ट्रिपर जलाइदिएका छन् । जलाइदिने उनीहरुको चेतावनीपछि उक्त सडक खण्डमा अन्य ट्रिपरसमेत चलेका छैनन् ।

बिहीबार पनि माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका थिए ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार