कांग्रेस कार्यकर्ताले बन्द गराएको बीपी राजमार्ग प्रहरीले खुलायो

सिन्धुली, ३० चैत । गाउँपालिकाका अध्यक्षमाथि हातपात गर्ने दोषीलाई कार्बाहीको माग गर्दै नेपाली कांग्रेसका कार्यकर्ताको प्रदर्शनका कारण बिहानभरी बन्द बीपी राजमार्ग प्रहरीले खुलाएको छ ।

तीनपाटन गाँउपालिकाका अध्यक्ष कर्णबहादुर थापामगरलाई हातपात गर्ने नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता मधु भनिने सिद्धिबहादुर कटुवाललाई पक्राउ गरी कार्बाही गर्ने प्रहरीले प्रतिबद्धता जनाएपछि बीपी राजमार्गमा यातायात चल्न थालेको हो । गाँउपालिका अध्यक्ष थापामगर स्थानीय तहको चुनावमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका हुन् ।

गाउँपालिका अध्यक्ष थापामगरमाथि हातपात गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर कार्बाही गर्ने प्रतिबद्धता जनाए पनि गए राति नै छाडेकोले दोषीलाई कार्बाहीको माग गर्दै सवारी आवागमन अवरुद्ध पारिएको नेपाली कांग्रेस सिन्धुलीका सचिव दीपक घिमिरेले बताए ।

नेकपाका स्थानीय नेता कटुवालले गाँउपालिकाका अध्यक्ष थापामगरलाई गत चैत २८ गते दिउँसो २ बजे कार्यकक्षमा नै दुव्र्यवहारसहित हातपात गरेको आरोप लागेको छ । तीनपाटन गाँउपालिका –१ बेल्घारीमा सडक निर्माणको काममा अनियमितता भएको गुनासो आएको र अनुगमनपश्चात सडक निर्माणको पैसा निकास गर्ने प्रक्रिया चलिरहँदा कटुवालले हातपात गरेको गाँउपालिका अध्यक्ष थापामगरको गुनासो छ ।

हातपात गरेर फरार रहेका कटुवालको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिएका छन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार