
धादिङ, ५ जेठ । धादिङको गजुरी गाउँपालिकास्थित बन्छेटारबाट त्रिशुली नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या सात पुगेको छ । एक जना महिला र ६ जना पुरुषको ज्यान गएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
ज्यान गुमाउनेमध्ये तीन जनाको पहिचान खुलेको छ । ज्यान गुमाउने काठमाडौं चन्द्रागिरी नगरपालिकाकी ३५ वर्षीय सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल गिरी र काठमाडौ थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी रहेको प्रहरीले जनाएको छ । यस्तै प्रकाश श्रेष्ठ, शेखर मगर र उज्वल पाण्डेको परिचय खुले पनि ठेगाना खुलेको छैन ।
प्रहरीका अनुसार दुर्घटनामा २९ जना घाइते भएका छन् । काँकडभिट्टाबाट काठमाडौका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको रात्रि बस बन्छेटारको घुम्तीबाट त्रिशुली नदीमा खसेको हो ।
घाइतेहरुको उपचारका लागि काठमाडौलगायत अन्य अस्पताल पठाइएको छ ।
बसमा कति जना सवार थिए भन्ने पनि अहिलेसम्म खुल्न सकेको छैन । दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासीन्दाले उनीहरुको उद्धार गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक हेमराज घिमिरेले जानाकारी दिएका छन् । दुर्घटनाको कारण खुलेको छैन । बस सडकबाट झण्डै ६० मिटर तल त्रिशुलीमा खसेको जनाइएको छ ।



