कांग्रेस सांसदले ‘बिथोले’ प्रतिनिधिसभा वैठक

काठमाडौं, २७ जेठ । कांग्रेस सांसदको चर्को विरोधका कारण प्रतिनिधिसभाको वैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । सोमबार मध्यान्ह १२ बजेर ५ जाँदा १५ मिनेटका लागि स्थगित गरिएको बैठक सूचना टाँस गरी मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबार गुठी विधेयकको विरोधमा माइतीघर मण्डलमा भएको शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीले दमन गरेको भन्दै गृहमन्त्री रामबहादुर थापाको जवाफ माग गरेको थियो । संविधान बमोजिम गरिएको शान्तिपूर्ण विरोधमा भएको दमनको यथार्थ विवरण नआएसम्म बैठक अघि बढ्न नसक्ने कांग्रेसको अडान थियो ।

सभामुख कृष्णबहादुर महराले गृहमन्त्री आएपछि जवाफ दिन समय दिने गरी पटक–पटक बैठक चलाउन खोजे पनि प्रमुख प्रतिपक्षी दलले नमानेपछि बैठक १५ मिनेटका लागि स्थगन भएको थियो । निर्धारित समयमा गृहमन्त्री जवाफ दिन आउन नसक्ने भएपछि मंगलबारसम्मका लागि बैठक स्थगन गरिएको जनाइएको छ ।

सभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, सञ्चार तथा सूचना प्रविधि र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने कार्यसूची थियो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार