झापाको कन्काई पुलमा बम राख्ने पाँच अभियुक्त सार्वजनिक

डेढ महिनाअघि झापाको कन्काई पुल नजिकै प्रेसर कुकर बम राखेर आतंक मच्चाएको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिई शुक्रबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले इलाका प्रहरी कार्यालय बिर्तामोडमा पत्रकार सम्मेलन गरी गोर्खा नेपाल जनमुक्ति मोर्चाको नामको पर्चासहित प्रेसर कुकुर बम राख्ने पाँच अभियुत्तलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरूमा झापा गोलधाप गाविस हाल हल्दिबारी गाउँपालिका–७ भुल्का गाउँ बस्ने २७ वर्षीय दीपेश न्यौपाने, दमक नगरपालिका–१ बस्ने ४२ वर्षीय सञ्जय खरेल भन्ने (खगेन्द्र), संखुवासभा खाँदबारी नगरपालिका–८ हिंगुवा घर भई हाल मोरङ सुन्दरहरैचा नगरपालिका ७ दुलारी बस्ने २१ वर्षीय कमल कोइराला भन्ने लालमणि कर्णखर, सताक्षीधाम गाविस हाल शिवसताक्षी नगरपालिका–१०, सैनिक बस्ती बस्ने ६४ वर्षीय चौहान साइला भन्ने रामचन्द्र चौहान र मोरङ उर्लाबारी नगरपालिका–१ झारसादी टोल बस्ने १९ वर्षीय मनिष माझी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी पमुख प्रहरी उपरीक्षक दिनेशकुमार मैनालीले जानकारी दिनुभयो ।

एसपी मैनालीका अनुसार सुनसरी इटहरीबाट खरेल र कोइरालालाई बैशाख ३० गते र माझीलाई जेठ २ गते, झापाबाट न्यौपानेलाई बैशाख २९ र चौहानलाई बैशाख ३० गते नियन्त्रणमा लिइएको थियो । गत वैशाख २९ गते बिहान कनकाई नगरपालिका–४ स्थित कन्काई नदीको पुलको डिभाइडरमा प्रेसर कुकर बम फेला परेको थियो ।

मोर्चाले सुगौली सन्धीमार्फत नेपालले गुमाएको भूमि फिर्ता, २०४६ देखि अहिलेसम्मको विदेशीलाई दिएको अंगिकृत नागरिकता फिर्ता, संघीयता खारेज, भ्रष्टाचारीलाई कारबाही, निःशुल्क शिक्षा र उपचारसहितको माग राख्दै झापामा पर्चासहित बम राखेको प्रहरीले जनाएका थिए ।

यता, प्रहरीको फन्दामा परेका पाँचैजनालाई विस्फोटक पदार्थ तथा संगठित अपराधसम्बन्धी मुद्दा दर्ता गराई कारबाही प्रक्रिया अघि बढाइसकेको एसपी मैनालीले जानकारी दिनुभयो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार