कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

१६ लाख भारुसहित पाँच जना पक्राउ

दाङ, ४ भदौं । स्रोत नखुलेको झण्डै १६ लाख भारतीय रकमसहित पाँच व्यक्तिलाई दाङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक महिलासहित चार पुरुष रहेका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका–५ बरुवागाउँ निवासी २७ बर्षीय हिराबहादुर विक, बाँके कोहलपुर नगरपालिका–२ प्रेमनगर निवासी ४२ बर्षीय सुरेश विक, सोही ठाउँकै मनकुमारी खत्री, रोल्पा त्रिवेणी गाउँपालिका–९ निवासी ४३ बर्षीय प्रकाश केसी र जाटरकोट बारेकोट गाउँपालिका–८ निवासी २७ वर्षीय शिव सिंह भनिने पूर्ण विक छन् ।

जिल्ला प्रहरी प्रबक्ता विनोद शाहले उनीहरु सबैलाई मंगलवार दिउँसो सुराकीको आधारमा पूर्वपश्चिम राजमार्ग अन्तरगत दाङको लमही नगरपालिका–९ जलकुन्डी क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिएका छन् । उनीहरुको साथवाट स्रोत नखुलेको १५ लाख ७९ हजार ५८० नगद र अन्य नेपाली रकम समेत जोड्दा कूल ३० हजार ८ सय बढी रकम बरामद भएको डिएसपी शाहले जानकारी दिएका छन् ।

जलप लगाए र सुनको मूर्ति भन्दै बेच्दै
उनीहरुले काठमाडौंबाट बुद्धको मूर्ति किनेर त्यसमा सुनको जलप लगाएर सुनको मूर्ति भन्दै महँगोमा बेच्ने गरेको प्रहरीले जानकारी दिएको छ ।

‘बुद्धको मूर्ति काठमाडौंमा किनेर त्यसमा सुनको जलप लगाई दाङको नाका हुँदै भारतमा गएर झुक्काएर महँगोमा बेचेको खुल्न आएको छ,’ डिएसपी शाहले भने ।

प्रहरीका अनुसार उनीहरुले दाङको राजपुरनाका हुँदै छिमेकी देश भारत गएर जलप लगाएको बुद्धको मूर्तिलाई सुनको मूर्ति भन्दै महँगोमा बेचेका थिए । मूर्ति बेचर उनीहरु जिल्लाकै भैंसाही नाका हुँदै फर्कदै गर्दा गोप्य सुराकीको आधारमा पक्राउ परेका हुन् ।

‘उनीहरु सबैले रकम भागवण्डा गरिसकेर राजमार्ग क्षेत्रमा आ–आफ्नो घरतर्फ जान बस कुरिरहेको अवस्थामा पक्राउ गरिएको हो,’ प्रवक्ता शाहले भने ‘उनीहरुकै बीचबाट सूचना प्राप्त भएपछि प्रहरीलाई सजिलो भएको हो ।’ पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय दाङमा राखेर अनुसन्धान शुरु गरिएको डिएसपी शाहले जानकारी दिए ।

नयाँ पेज बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार