
गण्डकी प्रदेशको राजधानी रहेको पोखरा प्रवेश गर्ने नाका रहेको पृथ्वी राजमार्ग अन्तरगत पर्ने तनहुँको शुक्लागण्डकी- ३ स्थित गाछेपानीको सडक दुरावस्थाको कारण धेरै समस्या खेप्नु परेको भन्दै आज प्रदेशमातहत रहेको सडक डिभिजन कार्यालय तनहुँमा घेराउ गरिएकाे छ ।
प्रदर्शनकारीले सडक डिभिजन कार्यालयका प्रमुख विष्णुप्रसाद काफ्लेलाई आधा घन्टासम्म उनकै कार्यकक्षमा चुकुल लगाएर थुनिदिएका छन् । पटक पटक सडकको स्तरउन्नतिको लागि माग गरिएको तर अहिलेसम्म राम्रो काम नभएको भन्दै शुक्लागण्डकी नगरपालिका वडा नं २ र ३ का स्थानीय बासिन्दाहरुले कार्यालय प्रमुखलाई थुनी नाराबाजी गरेका थिए ।
सरकारी मान्छेदेखि राजनितिक दलका नेताहरु उक्त बाटो ओहाेरदोहाेर गर्दा पनि अहिलेसम्म केही स्तराेन्नति नभएको शुक्लागण्डकी नगरपालिका वडा नं २ का शंकर पन्तले बताए । त्यस्तै सोही वडाका हरि रिमालले पटकपटक बाटोको स्तराेन्नतिको बारेमा जानकारी गराए तापनि केही नगरेको बताए ।
पृथ्वीराजमार्ग अन्तरगत पर्ने उक्त गाछेपानीको सडक खण्डमा खाल्टाखुल्टीको कारण धेरैको ज्यान गइसकेको स्थानीय बताउँछन् । चार किमी सडकमा खाल्टाखुल्टी भएका कारण घाम लागेको बेला धुलो र पानी पर्दा हिलो तथा पोखरी जम्ने गरेको छ ।
उक्त सडकको स्तराेन्नतिका लागि काठमाडाैँको रोशन सिद्धगढी जे.भीले २०७३ साउन १२ गते ठेक्का सम्झौता गरी २०७३ चैत्र १२ गते ठेक्का सम्पन्न गर्ने भनी ठेक्का हात पारेको थियो । त्यसपछि २०७४ कात्तिक १२ गते सम्म दोस्रोपटक म्याद थप गरेको सडक डिभिजन कार्यालयका सुचना अधिकारी सचिन श्रेष्ठले जानकारी दिए ।
२ करोड ७१ लाख ८८ हजार आठ सय दुई रुपैंयामा ठेक्का लिएकोमा एक करोड ४१ लाख ५३ हजार पाँच सय ३० रुपैंया रकम भुक्तानी दिइसकेको उनले बताए । उनले भने, “समयमा काम नसेकेको कारण गत साउन २९ गते पत्र लेखी समयमै नै काम सक्न भनेर स्पष्टीकरण लिएका थियाैँ तर गरेको काम भत्किसेकेको छ ।”
काम भइरहेको बेला निर्माण गरिएको सडक पानीले बिगारेको भन्दै सडक डिभिजन कार्यालयका प्रमुख काफ्लेले जिकिर गरेका छन् । उनले भने, “ठेक्कदारले निर्माण गरिरहेको सडकमा पानी बग्ने ठाँउ नभएको कारण सडक बिग्रिएको हो ।”
कार्यालयमा घेराउ हाली कार्यालय प्रमुखलाई थुन्दा प्रहरी र गाछेपानीका स्थानियबीच बहस चलेको थियो । प्रतिनिधि सभाका सांसद केदार सिग्देलले पनि उपस्थिति जनाएका थिए । उनले यस सडकको बारेमा सदनमा पनि कुरा उठाएको बताए ।
न्युज २४ बाट साभार



