कोरोना भाइरसको संक्रमण १ सय भन्दा बढी देशमा फैलियो, चीनमा घट्दै


दुई महिना अघि चीन को बुहानमा देखा परेको कोरोना भाइरसको संक्रमण १ सय भन्दा बढी देशमा फैलिएको छ। विश्व स्वास्थ्य संगठनले शनिबार सम्ममा यसको संक्रमण १ सय ३ देशमा फैलिएको जनाएको छ।

यसको उत्पत्ति भएको देश चीनमा भने संक्रमितको संख्या घट्दै गए पनि इरान र इटालीमा भने तीब्ररुपमा फैलिदै गएको छ। चीनमा अहिले सम्म मृत्यु हुनेको संख्या ३ हजार ९७ जना रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। त्यस्तै ८० हजार ६ सय ९६ जना मानिसमा यसको संक्रमण रहेको र ५७ हजार ८३ जना संक्रमितको उपचार भएको पनि चिनियाँ स्वास्थ्य मन्त्रालयले जनाएको छ। चीनपछि इटालीमा सबै भन्दा बढी यसबाट प्रभावित भएका छन्।

इटालीमा ५ हजार ८ सय ८३ जनामा सक्रमण भेटिएको छ। त्यस्तै शनिबार मात्रै थप ३६ जनाको मृत्यु भएको र मृत्यु हुनेको संख्या २ सय ३३ पुगेको छ। इरानमा १४५ जनाको ज्यान गएको छ भने त्यहाँ ५ हजार ८ सय २३ जना संक्रमित भेटिएको जनाइएको छ। दक्षिण कोरियामा ५० जनाको ज्यान गएको छ भने सात हजार १ सय २४ जनामा संक्रमण फैलिएको छ।

युरोपेली देशहरु फ्रान्स जर्मनी, स्पेन, बेलायत बेल्जियममा पनि यसको संक्रमण तीब्र रुपमा फैलिरेहको छ। त्यस्तै जापानमा पनि यसको संक्रमणबाट ६ जनाको ज्यान गइसकेको छ भने अमेरिकामा १९ जनाले ज्यान गुमाएका छन्।

यसको संक्रमण अर्जेन्टिनामा पनि पुगेको छ। अर्जेन्टिनामा एक जनाको ज्यान गएको छ। हालसम्म विश्वभरबाट सक्रमित हुनेको संख्या १ लाख ६ हजार १ सय ९१ पुगेका छ। त्यस्तै मृत्यु हुनेको संख्या ३ हजार ६ सय छ भने विगत २४ घण्टामा १ सय ६ जनाको ज्यान गएको छ।

त्यस्तै ६० हजार एक सय ९० जना उपचारपछि घर फर्किएका छन्। नेपालमा पनि एक जनामा कोरोनाको संक्रमण भेटिएको तर उपचारपछि निको भएर घर फर्किएका छन्। कोरोनाका कारण विश्व अर्थतन्त्र तहसनहस भएको छ। यसको संक्रमण तीब्र रुपमा फैलिदै गएपछि नेपालले ठूला सभा सम्मेलन नगर्न, भीडभाडमा नजान आम नागरिकलाई अपिल गरेको छ।

टोडके न्युज बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent