कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

सशस्त्र प्रहरीमाथि भारतीय नागरिकको आक्रमण, हँसिया प्रहारबाट जवान घाइते

रौतहट, १० साउन । रौतहटको परोहा नगरपालिका–८ नरकटियाको नेपाल–भारत सीमा क्षेत्रमा झडप भएको छ । सीमा क्षेत्रमा ड्युटीमा खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरुमाथि भारतीय पक्षले आक्रमण गरेपछि झडप भएको हो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन १० चैत, २०७६ देखि सीमा नाका बन्द छ । तर भारतीय महिलाहरु घाँस काट्न नेपालतर्फ प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरी बलका जवानहरुले रोकेका थिए ।

तर उनीहरुले सुरक्षाकर्मीमाथि हातपात गर्न खोजेपछि विवाद भएको थियो । त्यस क्रममा भारतको पूर्वी चम्पारण कवैया पञ्चायत ६ खर्सलाहाका सीमा देवी कुशवाहाले आफूले बोकेको हँसिया ड्युटीमा रहेका सशस्त्र प्रहरीका जवानलाई प्रहार गर्दा उनको हातमा चोट लागेको छ ।

सो क्रममा भारतीय गाउँ कोरैया र खरसलवाका झण्डै २ सय मानिस एक्कासी आएर ‘यताको जग्गा हाम्रो हो, हामी आउजाउ गर्न पाउनु पर्छ भन्दै हातपातमा उत्रिएपछि झडपको अवस्था सिर्जना भएको थियो ।

झडपका क्रममा भीडलाई तितरवितर बनाउन एक राउण्ड हवाई फायर गर्नु परेको सशस्त्र प्रहरी बल ११ नम्बर गणले जानकारी दिएको छ । घटनाले उग्ररुप लिएपछि ११ नम्बर गण हेडक्वाटरबाट ५० जना र ईलाका प्रहरी कार्यालय मौलापुरबाट ३५ जना सुरक्षाकर्मीको टोली परिचालन भएको थियो ।

सशस्त्र प्रहरी बल २ छिन्नमस्ता बाहिनीका डीआईजी कृष्णभक्त ब्रहृमचार्य समेत घटनास्थल पुथेका थिए । घटनमा संलग्न भारतीय नागरिक रविन्द्र प्रसाद कुशवाहालाई पक्राउ गरी प्रहरी चौकी, नरकटियामा राखिएको थियो । अहिले सीमाक्षेत्रको अवस्था सामान्य रहेको सशस्त्र प्रहरीले बताएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार