
काठमाडौं, २० साउन । कोरोना भाइरसको संक्रमण दर नेपालमा पनि थप बढ्दै गएपछि पुनः लकडाउन गर्नुपर्ने सुझाव विज्ञहरुले दिएका छन् ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कम्तीमा पनि दुई साता लकडाउन गरेर कोरोना रोकथाम तथा नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न विज्ञहरुले सुझाव दिएका हुन् ।
बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारले सुझाव लिने मात्रै नभई काम पनि गर्नुपर्ने धारणा राख्नुभएको थियो । बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित विज्ञहरुले दुई साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएको बताइएको छ ।
बैठकमा हालकै अवस्थामा अगाडि बढ्दा कोरोना संक्रमण थप भयावह हुनसक्ने चिन्ता विज्ञहरुले व्यक्त गरेका थिए । कम्तिमा पनि २ साता लकडाउन घोषणा गरेर कोरोना रोकथाम तथा नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नै उचित हुने सुझाव विज्ञहरुको थियो ।



