दरबार हत्याकाण्डपछि बन्द राजा वीरेन्द्रको निजी निवास अवलोकन गर्न पाइने

काठमाडौं, ६ मंसिर । दरबार हत्याकाण्डपछि बन्द नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ आइतबारबाट सर्वसाधरणका लागि अवलोकन खुल्ला हुने भएको छ ।

शनिबार दिउँसो २ बजे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्री सदन खुला भएको औपचारिक शुभारम्भ गर्ने र आइतबारबाट सर्वसाधारणले अवलोकन गर्न पाउने नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिए ।

राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, छोरी श्रुति र छोरा नीराजन श्री सदनमा बस्थे । २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नास भएदेखि श्री सदन बन्द छ । २०७७ वैशाख १ गतेको नयाँ वर्षको दिनदेखि श्री सदन खुला गर्ने योजना भए पनि कोरोना संक्रमण र बन्दाबन्दीका कारण पछि धकेलिएको थियो ।

आइतबारबाट ‘श्री सदन’ का साथै गणतन्त्र स्मारकसमेत अवलोकनका लागि खुल्ला हुने दाहालले बताए । २०७६ जेठ १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र स्मारक उदघाटन गरे पनि अवलोकनका लागि खुल्ला भएको छैन ।

श्री सदनमा के–के छन् हेर्नलाई ?

भनिन्छ श्री सदन राजा वीरेन्द्रकै डिजाइनमा बनाइएको थियो । २०२३ सालमा बनेको यो तीन तले भवनमा १२ वटा कोठा छन् । भुइँतलामा तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यको निजी कार्यालय थियो ।

भान्सा कोठा, खाना खाने कोठा, मदिरा पिउने बार र विश्राम गर्ने कोठा पनि भुइँतलामै छ । तत्कालीन युवराज दीपेन्द्र पनि भुइँतलामै बस्दथे । उमेर पुगेपछि अलग बस्नुपर्ने नियमअनुसार दीपेन्द्र श्री सदनबाट त्रिभुवन सदनमा सरेका थिए । त्यसपछि उनको कोठा खाली थियो ।

श्री सदनको पहिलो तलामा राजा वीरेन्द्र सुत्ने कोठा र रानी ऐश्वर्यको कोठा छन् । रानी ऐश्वर्यको कोठामा उनले हेर्ने गरेको टेलिभिजन, गीतका क्यासेट र क्यासेट प्लेयर छन् । दोस्रो तलामा कान्छा छोरा निराजन र छोरी श्रुतीका कोठा छन् ।

मोटर ग्यारेजमा हिटलरले वीरेन्द्रलाई उपहारस्वरुप दिएको गाडी राखिएको छ । यसैगरी तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले चढ्ने गाडी पनि अवलोकन गर्न पाइने छ । त्यहाँ दीपेन्द्र, श्रुती र निराजनका खेलौना गाडीहरु पनि राखिएका छन् । वीरेन्द्रले प्रयोग गरेको हेलिकप्टर र हवाईजहाज पनि अवलोकन गर्न पाइने छ ।

श्रीसदनबाटै गणतन्त्र स्मारकमा जान सकिन्छ । तर अहिले बीचमा पर्ने टुकुचा खोलामा पुल नबनिसकेकाले नारायणहिटी दरबारबाट बाहिरिएर नागपोखरी नजिकको पूर्वी गेटबाट गणतन्त्र स्मारक प्रवेश गर्नुपर्दछ । नयाँ पेज बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent