घर जान चाहनेका लागि दुई दिन समय दिएर उपत्यकामा कडा निषेधाज्ञाको तयारी

काठमाडौं, १३ बैसाख । काठमाडौं उपत्यकाबाट बाहिर घर जान चाहनेहरुका लागि दुई दिनको समय दिएर कडा बन्द गर्ने तयारी स्थानीय प्रशासनले गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले दिएको जानकारीअनुसार बेलुकासम्म कहिलेबाट कसरी बन्द गर्ने भन्ने विषयमा सूचना सार्वजनिक गरिनेछ ।

उनका अनुसार काठमाडौं उपत्यकाको चेन ब्रेक गर्नका लागि डेढहप्ता कडा बन्द गर्नूपर्ने अवस्था छ । ‘हामीले अनुगमन पनि तीव्र बनाउँछौं’, उनले भने, ‘एक– दुई दिन घर जाने समय दिन्छौं । समय दिएर मात्रै कडा बन्द गर्नुपर्ने सुझाव आएको छ । त्यसैले हामीले घर जान चाहनेहरुका लागि समय दिएर बन्द गर्न लागेको हौं ।’ घर फर्किन समय दिऊ भनेर यस्तो निर्णय गरिएको उनले जानकारी दिए ।

सोमबार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कम्तिमा दुई दिनको समय दिएर एक साताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको हो । कुनै एक क्षेत्रलाई मात्रै बन्द गर्दा पनि संक्रमणको अवस्थालाई ब्रेक गर्न नसकिने भएकाले सम्पूर्ण क्षेत्रलाई पूर्ण रुपमा बन्द गराउन निषेधाज्ञा जारी गर्ने निर्णय भएको पनि बताए ।

लकडाउन गर्नुभन्दा अगाडि सतर्क रहन सर्वसाधारणलाई अपिल गरिएको भएपनि मापदण्ड पूर्ण रुपमा पालना नहुँदा संक्रमणको स्थिति गम्भीर बनेको ठहर प्रशासनको छ । त्यसैले थप भयावह स्थिति आउन नदिनको लागि निषेधाज्ञा आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent