गायक कुमार सुब्बाको निधन

काठमाडौं । नेपाली मूलका भारतीय गायक कुमार सुब्बाको ७५ वर्षको उमेरमा निधन भएको छ । भारतको सिलिगुडीमा उपचारका क्रममा गायक सुब्बाको शनिबार बिहान निधन भएको हो । केही समयदेखि गम्भीर बिरामी रहेका उनको सिलिगुडीमा उपचार भइरहेको थियो । दार्जिलिङ मूल घर पनि उनी केही वर्षयता सिलुगुडी बस्दै आएका थिए ।

गायक कुमार सुब्बा गायकहरू गोपाल योञ्जन र कर्म योञ्जनका समकालीन थिए । कर्म र गोपालसँगै गायनमा अघि बढेका कुमारको सर्वाधिक लोकप्रिय गीत ‘देउरालीका ठिटीहरू नक्कल पार्नुपर्दैन…’ हो । उनले कैयौं कलजयी गीत गाएका छन् । जसमध्ये ‘सारंगीको तालले मेरो मनको गीत गाउँछ…’, ‘ए… फूल चुँडेर लाने हो…’, ‘झुपडी र दरबारको कथा…’, ‘गुराँस तेरो लाली…’ लगायतका उनका रुचाइएका गीत हुन् । उनका यी सबै गीत रेडियो नेपालबाट धेरैपटक बजेका कालजयी भाका हुन् ।

रेडियो नेपालबाट कैयौं गीत रेकर्ड गराएका कुमार सुब्बाको नेपालसँग मित्रता ‘नाटक अनि देउराली रुन्छ’ले प्रगाढ तुल्याएको हो । केही वर्षअघि काठमाडौंमा आएर नेपालयको प्रत्यक्ष गायन कार्यक्रम पलेटीमा उनले सो कुरा बताएका थिए । त्यतिबेला कुमारले बताएअनुसार २०२८ सालमा मनबहादुर मुखियाले दार्जिलिङबाट काठमाडौंमा ल्याई मञ्चन गरेको ‘नाटक अनि देउराली रुन्छ’ निकै महिना चलेको थियो । यो नाटकको गीतमा कुमार सुब्बा पनि गाएका थिए । त्यतिबेला दर्शकको चाहनाअनुसार काठमाडौंका विभिन्न टोलमा आफ्नो गीत गाएका थिए ।

कवि अगमसिंह गिरीको संगतले गायनमा लागेका कुमार सुब्बाले ३० को दशकपछिबाट कर्म योन्जनसँग गायनमा सहकार्य गर्दै आएका थिए । त्यसअघिसम्म गोपाल योञ्जन, कर्म योञ्जन र कुमार सुब्बाले गायनलाई सँगै अघि बढाए पनि जब गोपाल योञ्जन काठमाडौं आए । त्यसपछि कर्मा र कुमार जोडीको रूपमा गायनमा अघि बढेका थिए । यी दुईले चार दशकभन्दा लामो समय जोडी भएर नेपाली गीतको गायनमा योगदान दिए । कर्मा र कुमारले डेढ दशकअघि नेपाल आएर काठमाडौंको पलेटी कार्यक्रममा सँगै गीत प्रस्तुत गरेका थिए । उनीहरूले त्यतिबेला आफ्नासहित गोपाल योञ्जनका गीतसमेत गाएर श्रोताको मन जितेका थिए । तिनै कालजायी स्रष्टा कुमार सुब्बा अब हामीमाझ रहेनन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent