‘द भ्वाइस किड्स’को उपाधि टिम प्रमोदका जेनिश उप्रेतीलाई

काठमाडौं । हिमालय टीभी एचडीबाट प्रसारण भएको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’को उपाधि जेनिश उप्रेतीले जितेका छन् । शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट यो शो प्रशारण हुँदै आएको थियो ।

अन्तिम प्रतिस्पर्धामा पुगेका ८ जनामध्येबाट जेनिशले ‘द भ्वाइस किड्स’को उपाधि जितेका हुन् । उपाधिसँगै जेनिशले ‘द भ्वाइस किड्स’को ट्रफी, १५ लाख रुपैयाँ र विभिन्न गिफ्ट ह्याम्पर जितेका छन् । जेनिशलाई हिमालय टीभीका प्रमुख धर्मराज भुसालले ट्रफी र चेक प्रदान गरेका थिए । उपाधि जितेपछि जेनिशले भने, ‘मलाई परिवारले एकदमै साथ दिनुभएको छ । मलाई गाइड गर्ने सबै कोचहरुलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु । मैले ममीको सपना पूरा गर्न सकेकोमा गर्व गर्न चाहन्छु । दर्शकलाई पनि विशेष धन्यवाद दिन चाहन्छु ।’

६ वर्षदेखि १४ वर्षसम्मका बालबालिकाहरुको सहभागिता रहेको योे रियालिटी शोमा कोचको रुपमा प्रमोद खरेल, राजु लामा, मिलन नेवार र प्रविशा अधिकारी रहेका थिए । २० भागसम्म चलेको यो शोलाई दर्शकले रुचाएका थिए ।

यसैबीच, ‘द भ्वाइस किड्स’ सफलतापूर्वक सम्पन्न भएसँगै हिमालय टीभीले ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनको अडिसन मंगलबारबाट शुरु हुने जनाएको छ ।

यस्तै, ‘डान्सिङ स्टार्स अफ नेपाल’को दोस्रो सिजन पनि हिमालय टीभीबाट चाँडै प्रसारण हुने कार्यक्रममा जानकारी दिइयो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार