कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!
कथा काठमाण्डु’को माध्यमबाट मैले गेम चेन्ज गर्न खोजेकी हुँः प्रियंका
Pathibhara Channel, News portal from Nepal
Pathibhara Channel
आइतवार, अशोज ७, २०७५
| September 23rd, 2018 ग्लामर न्युज, समाचार
शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘कथा काठमाण्डु’लाई लिएर अहिले थुप्रै खालका बहस सिर्जना भएको छ । चलचित्रको ट्रेलर र गीत सार्वजनिक भएसँगै नायिका पि्रयंका कार्की र कलाकार प्रमोद अग्रहरि विचको अन्तरंग दृश्यले आलोचना र प्रशंसा दुबै पाएको छ ।
चलचित्रको यो विवादमा नायिका प्रियंका कार्की भने अहिलेसम्म मौन नै थिइन् । तर, चलचित्र रिलिज हुनुभन्दा एक साता अगाडि मिडियासँग कुराकानी गर्न तयार भएकी प्रियंका ले आफू प्रचारको योजना अनुसार नै नबोलेको बताएकी छिन् ।
मलाई लाज लागेर नहिडेकी होइनँ
यो हाम्रो सुरुवातदेखि कै योजना थियो । म चलचित्रसँग आवद्ध हुदिनँ, मलाई लाज लाग्यो भनेर प्रचारमा नहिडेकी होइनँ । चलचित्रमा मैले गरेको भूमिकालाई लिएर सकारात्मक र नकारात्मक दुबै खालको प्रतिक्रिया आउँछ भन्ने मलाई थाहा थियो ।
मैले दिएको दृश्य हाम्रो समाजमा सजिलै पच्दैन भन्ने मलाई लागेको थियो । यो कुनै पब्लिसिटी स्टन्टका लागि गरिएको पनि थिएन । म पनि मेरो करिअरको यो विन्दुमा आएर यस्ता दृश्य विनाकारण गर्दैनथ्यँ । दर्शकले दिनुभएको प्रतिक्रियालाई मैले मायाको रुपमा हेरेको छु । मन परेको मान्छे फूलै फूलमा हिडोस् भन्ने दर्शकलाई पनि हुन्छ होला । यो चलचित्रको माध्यमबाट मैले गेम चेन्ज गर्न खोजेकी हुँ । गीत विवाद भएको समयमा म बोल्दा विवाद र बहस अझै चर्कन्थ्यो । यसैले म चुप बसेकी हुँ ।
भिडियोको प्रतिक्रियाले खुशी भएँ
गीतको भिडियो सार्वजनिक भैसकेपछि मलाई चिन्ने धेरै साथीहरुले गरेको कमेन्टले मलाई खुशी बनाएको थियो । उहाँहरुले मलाई गीतको भिडियोमा असहज देखिएको भनेर कमेन्ट गर्दा मलाई खुशी लाग्यो ।
किनकी, यो गीतको भिडियोमा मैले सजिलैसँग दृश्य दिएकी थिइनँ । किनकी, यो रेप केस हो । रेप कलरफूल हुँदैन । यसैले, मेरो सहमती बेगर नै गरिएको दृश्यमा म खुल्न सक्दिनँ । तर, दर्शकले मलाई खुल्न नसकेको, असहज मानेर किन गरेको भनेर प्रतिक्रिया दिदा म खुशी भएँ । दर्शकले मलाई अप्ठ्यारो भएको महशुश गर्नुभयो नि, यसपछि मलाई लाग्यो मैले त्यो भूमिकमा कुन स्तरमा निर्वाहा गरेकी रहेछु ।
गीत सार्वजनिक र इन्गेजमेन्टसँग सम्बन्ध छैन
मेरो इन्गेजमेन्ट लगतै गीत सार्वजनिक भयो भनेर म यसको निर्माण टिमसँग रिसाएकी होइनँ । आफूले त्यो पात्र गरिसकेपछि त्यो इन्गेजमेन्ट हो कि, बिहे हो कि के हो भन्ने कुरामा तयार हुनुहुन्छ । म एउटा यस्तो परिवारमा बिहे गरेर जाँदैछु, त्यो परिवारले यो सबै कुरा वुझ्नुहुन्छ । रविना मामु, मेरो मामु सबै कुरामा मलाई समर्थन छ । उहाँहरुले यो कुरालाई कसरी लिनुपर्छ भन्ने राम्रोसँग थाहा पाउनुभएको छ ।
मलाई मेरो आमाबुबाले भन्नुभयो-‘हेर त कति राम्रो गरेको तिमीले, नेपालमा यस्तो कुरा पचाउन समय लाग्छ ।’ रिल र रियल कुरा फरक हो, यो कुरामा मलाई ब्यालेन्स राख्न आउँछ ।
‘कथा काठमाण्डु’मा लिभिङ टूगेदरमा बसेको जोडी
चलचित्रमा म र कलाकार प्रमोद अग्रहरि लिभिङ टूगेदरमा बसेको यूवा यूवतीको भूमिकामा छौ । तर, कतिपय सम्बन्धहरु ज्ाोडिन पनि नसक्ने, अलग हुन पनि नसक्ने खालको हुन्छ । चलचित्रको मुख्य थिम भनेको ‘हिंसा बन्द गरौ’ भन्ने हो । बिहे गरिसकेपछि छोरीलाई श्रीमान्ले पिट्यो भने पनि बोल्न हुँदैन भन्ने वुझाई हाम्रो समाजमा छ । श्रीमान्ले गर्ने हरेक क्रियाकलापलाई सहँदा त्यसले श्रीमान्को आत्मबल बढाउँदै जान्छ । हिंसा ग्राउन्ड लेबलबाट नै बन्द गर्नुपर्छ भन्ने चलचित्रले देखाउँछ ।
घरभित्रको हिंसाविरुद्ध आवाज उठाउँछ
चलचित्र ‘कथा काठमाण्डु’ले घर भित्र हुने हिंसाको विरुद्धमा आवाज उठाउँछ । चलचित्रमा म सुपर मोडलको भूमिकामा छु । तर, घर भित्र मेरो आफ्नो जीवन छ । मेरो श्रीमान्ले गर्ने बारम्बारको हिंसालाई सह्यो भने के हुन्छ र उसको आत्मबल कसरी अगाडि बढ्छ भन्ने चलचित्रले देखाउँछ ।
हाम्रो समाजमा श्रीमान्ले पिट्यो भने पनि ‘तिम्रो आफ्नै श्रीमान् हो, गएर सुत न’ भन्ने सोचाई छ । यसको विरुद्धमा चलचित्रले आवाज उठाउँछ । यो चलचित्र ठूलो जमातले हेर्छ या सानो जमातले मलाई थाहा छैन । तर, यसले केही परिवारमा मात्र पनि सकारात्मक परिवर्तन ल्याउन सक्यो भने म खुशी हुनेछु ।’