गोठाटारबाट ७ वर्षे बालक अपहरित, कुट्दै हालियो गाडीमा
Pathibhara Channel, News portal from Nepal
Pathibhara Channel
बुधबार, अशोज १७, २०७५
| October 3rd, 2018 ब्रेकिंग न्युज, मुख्य समाचार, समाचार
काठमाडौं, १७ असोज । काठमाडौंबाट फेरि अर्का बालकको अपहरण भएको छ । काठमाडौं गोठाटारबाट ७ वर्षीय बालक अपहरणमा परेको प्रहरीले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको तेजविनायक चोकबाट उनी बुधबार अपहरणमा परेका हुन् ।
अपहरणकारीले उनलाई ट्याक्सीमा राखेर लगेको प्रत्यक्षदर्शीले जानकारी दिएको प्रहरीले बताएको छ । प्रहरीले भनेको छ, ‘प्रत्यक्षदर्शीले बालकलाई पिट्दै गाडीमा हालेर लगेको जानकारी दिएका छन् ।’
अपहरणमा परेका बालकले कालो चेकसर्ट र कालो हाफ प्यान्ट लगाएको जनाइएको छ । ‘प्रहरी टोली घटनास्थल पुगिसकेको छ’, काठमाडौं प्रहरीका एसपी अशोक सिंहले भने ।
बालकको खोजीका लागि महानगरीय प्रहरी कार्यालयले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा प्रहरी परिचालन गरेको छ । प्रहरीले ठाँउ–ठाँउमा नाकाबन्दी गरेर बालकको खोजी गरिरहेको जनाएको छ ।
‘हामीले प्रारम्भिक अनुसन्धान थालिसकेका छौं । घटनास्थलको सिसिटिभी फुटेज हेरिरहेका छौं’, एसपी सिंह भन्छन्, ‘केही समयपछि घटनाको पथ रहस्य खुल्ने अनुमान गरेका छौं ।’
महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटी, बौद्ध वृत्तका डिएसपी श्यामकुमार राई र बानेश्वर वृत्तका डिएसपी गोविन्द काफ्ले अहिले घटनास्थल पुगेका छन् ।
घटनास्थलमा रहेका डिएसपी बोगटीले अपहरण भएको आशंका गरिएका बालकको परिवारसँग सम्पर्क गर्ने प्रयास भइरहेको बताएका छन् । ‘हामी घटनास्थलमा छौं । बालकलाई गाडीमा राखेर लगेको भन्ने सूचना छ, थप कुरा बुझिरहेका छौं ।’