
डोटी, १९ साउन । डोटीमा गोली लागेर एक जनाको ज्यान गएको छ । आदर्श गाउँपालिका–५ तल्लो डाँडावनमा जनावर धपाउन हानेको गोली लागेर एक जनाको ज्यान गएको हो ।
आदर्श गाउँपालिका–५ का ५० वर्षीय जंगे भुलले हानेको गोली लागेर यही ठाउँका १९ वर्षीय तपेश लुहारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता लालबहादुर धामीले जानकारी दिए ।
शनिबार राति करिब पौने ११ बजेको समयमा सलामी डाँडावनमा आएका जंगली जनावर मृग धपाउन जंगे भुलले प्रहार गरेको भरुवा बन्दुकको गोली तपेश लुहारको टाउकोमा लागेको थियो ।
यसबारे थप अनुसन्धान गर्न प्रहरी निरीक्षक कर्ण बोहोरासहितको टोली घटनास्थलतर्फ गएको प्रहरी प्रवक्ता धामीले जानकारी दिए । गोली प्रहार गर्ने जंगे भुल र उनले प्रयोग गरेको बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ ।



