
शुक्रबार बिहानै बुटवलका सडकमा मुख्यमन्त्री शंकर पोख्रेल सामान्य कपडामा निस्किए, उनीसंगै प्रदेश सरकारका मन्त्रीहरु र कर्मचारीहरु पनि थिए, हातमा पन्जा लगाएर सडकमा फोहोर टिप्नेहरुमा सर्वसाधारण देखि उच्च पदस्थ कर्मचारी र सरकारका माननीय, मन्त्री र मुख्यमन्त्रीहरुले चौथो संविधान दिवसको पुर्वसन्ध्यामा डेङ्गुविरुद्द सचेतना फैलाउन सरसफाई अभियान चलाइएको हो ।
प्रदेश पाँचले ३ दिने विशेष कार्यक्रमका साथमा संविधान दिवस मनाउने तयारी गरेको छ । यसै अभियान अन्तर्गत हिजो प्रदेश पाँचका सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा फेरीएको छ ।
त्यस्तै प्रदेशको मुकाम बुटवलको मुख्य चोकहरुमा राष्ट्रिय झण्डा फहराईएको छ । तीन दिवसीय संविधान दिवस बिशेष कार्यक्रमको आज प्रदेश राजधानी रहेको बुटवल उपमहानगरपालिकाको व्यबस्थापनमा सरसफाई गएिको छ । डेंगु रोग बिरुद्ध सचेतना अभियानको रुपमा सामाजिक बिकास मन्त्रालयले अंगाडी बढाउने गरि सरसफाई कार्यक्रम गरिएको हो ।
प्रदेश प्रहरी प्रमुख डिआईजी सुरेशबिक्रम शाहको नेतृत्वमा जनपथ प्रहरीले बुटवलको मुख्य चोकको सरसफाई समेत गरेका छन ।
त्यस्तै प्रदेश सरकारले १०९ वटै स्थानीय तहहरुलाई पनि आफ्नो आफ्नो स्थानीय तहमा सरसफाई कार्यक्रम सञ्चालन गर्न तथा प्रदेश सरकारले तय गरेका कार्यक्रम गर्न आह्वान गरेको थियो । सोही अनुसार स्थानीय तहहरुले पनि पालिकाका केन्द्रमा सरसफाई कार्यक्रम गरेका छन् ।
प्रदेश सरकारले संविधान दिवसलाई बिशेष महत्व दिँदै तीन दिन मनाउने निर्णय गरेको थियो । तीन दिन नै प्रदेशका सबै सरकारी कार्यालयहरुमा साँझ दीपावली गरिने छ । संविधान जारी भएको दिन असोज तीन गते शुक्रबार प्रदेश पाँचको राजधानी बुटवलमा बिशेष कार्यक्रम गरिने छ ।
बिहान बुटवलमा बिभिन्न जात जातीका कला संस्कृति झल्किने झाँकी सहितको रयाली प्रदर्शन गरिने र झाँकी सहितको र्याली लगत्तै बुटवल मण्डपमा आम सभा गर्ने सरकारको तयारी छ । त्यस्तै अन्तिमदिन असोज ४ गते रक्तदान, बृक्षारोपण कार्यक्रम तय गरिएको छ ।
प्रदेश ५ मा डेङ्गुको प्रकोप बढिरहेको बेला संविधान दिवसलाई त्यसैसग जोडेर सरसफाइ अभियान संचालन गर्दा सर्वसाधारणको समेत उच्च सहभागीता रहेको थियो ।
न्युज २४ बाट साभार



