
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ्य भएपछि स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पताल लगिएको छ । ग्राण्डी अस्पतालले भने यसबारे कुनै औपचारिक जानकारी दिएको छैन ।
‘अस्पतालको निर्देशकका रुपमा मेरो पहिलो काम भनेको बिरामीको उपचार हो। प्रधानमन्त्रीको सचिवालयले औपचारिक रुपमा जानकारी दिनका लागि मलाई आग्रह नगरेसम्म मैले केही पनि भन्न मिल्दैन। मेरो बाध्यता बुझिदिनुस्,’ ग्राण्डीका निर्देशक डा. चक्रराज पाण्डेले फोनमा भने। उनले प्रधानमन्त्री स्वास्थ्य परीक्षणका लागि त्यहाँ पुगेको जानकारीलाई पनि औपचारिक रुपमा पुष्टि गर्न मानेनन्।
अस्पताल उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई आईसीयूमा राखेर विभिन्न परीक्षण र उपचार भइरहेको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार उनलाई नियमित स्वास्थ्य परीक्षणका लागि मात्रै बिहान ९ बजे अस्पताल लगिएको हो। ‘उहाँ परीक्षणका रिपोर्ट आएपछि बालुवाटार फर्कनु हुन्छ,’ उनले भने।
प्रधानमन्त्री ओलीले पछिल्लोपटक भाद्र ५ गते सिंगापुर गएर त्यहाँ दुई साता बसेर प्लाज्माफेरेसिस गराई भाद्र २० गते स्वदेश फर्किएका थिए।
सुरुमा प्रधानमन्त्री ओलीको साउन १० गते शुक्रबार सैनिक अस्पताल छाउनीमा नियमित ल्याब परीक्षणसहित यूएसजी ग्याइडेड ‘रेलन बायोप्सी’ गरिएको थियो। रेनल बायोप्सीको रिपोर्टकै आधारमा उनलाई थप परीक्षण र उपचारका लागि सिंगापुर लैजाने निर्णय भएको थियो।
रेनल बायोप्सी मिर्गौलाप्रत्यारोपण गरिएको मिर्गौलाले कसरी काम गरिरहेको छ भनेर मूल्यांकन गर्न गरिन्छ। यसको परीक्षण मिर्गौलाको कार्यप्रणालीमा कमी, पिसाबमा निरन्तर रगत वा प्रोटिन देखिए पनि गरिन्छ। मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको प्रत्यारोपणलगत्तै पनि यस्तो बायोप्सी गरिन्छ।
प्रधानमन्त्री ओलीको १२ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको हो।६ वर्षअघि उनको हातमा संक्रमण भएको थियो। निकै लामो समय उपचार गरेर निको भएको थियो। उनले दिल्ली र थाइल्यान्ड गएर उपचार गरेका थिए। त्यसपछि उनी नियमित फलोअपमा थाइल्यान्ड जाने गरेका थिए।
गत वर्ष प्रधानमन्त्रीको शपथ लिनु केही दिनअघि बैंककस्थित ब्रुमरुग्रान्ड इन्टरनेसनल अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए।



