
ओपेरा इन्टरटेन्मेन्ट नेपालको प्रस्तुति,किशोर सुब्बाको निर्देशन, मनि ताम्लिङ र बिराज लिम्बुको निर्माण रहेको लिम्बू कथानक चलचित्र “थेत्लङ“को काठमाडौंमा सफलतापूर्वक प्रदर्शन भएको छ ।
काजी आङ्देम्बेको सभापतित्वमा सम्पन्न चलचित्र प्रदर्शन कार्यक्रममा शुभकामना मन्तव्यको क्रममा बोल्दै पुर्वसभासद तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेल पहिचानको लडाइको भाषा फरक भएतापनी बिनापहिचानको जीवन असम्भव हुने र अब सबै मिलेर अघि बढौं भन्दै सफलताको कामना व्यक्त गरेका थिए । त्यसैगरी पुर्वकुलपती बैरागी काइलाले विभिन्न जातजाति मिलेर नेपाल इन्द्रेणी जस्तै बनेको बताएका थिए । ’एउटा मात्रै जातिलाई बाहेक गरे राष्ट्र सुदृढ बन्दैन’ उनले थपे । चलचित्र थेत्लङ प्रस्तुत हुन लाग्दा सिकिमबाट कलाकारहरूको उपस्थित भएकोले थप खुसी लागेको पनि बताएका थिए । काइलाले सिकिमका नेपाली भाषीहरू र नेपालीहरूबिच भाषा र भेष एउटै तर राष्ट्रियता मात्र फरक रहेको बताए ।
कार्यक्रममा प्रसंसापत्र र सिकिमबाट आएका कलाकारहरूलाई मायाको चिनो समेत बितरण गरिएको थियो । जमलस्थित राष्ट्रिय नाचघरमा प्रदर्शन भएको उक्त चलचित्र हेरिसकेपछी चलचित्र राम्रो लागेको दर्शकहरूले बताएका थिए ।
चलचित्र थेत्लङ देउमान लिम्बु होन्दोकुको ‘थेत्लङ’ उपन्यासलाई चलचित्र निर्देशक तथा लेखक सागर केरुङले पटकथा तयार पारेका हुन् भने बिशाल सेनेहाङ, दिब्या सुब्बा, संगीता सम्बाहाम्फे, सर्मिला यक्सो, मुनाहाङ लिम्बू, सान्ती सुब्बा, हस्त लिबाङ, देउमान केरुङ, मणिराज लिम्बू, येहाङ लिम्बू, लिला तुम्बापो, सञ्जय ताम्लिङ, सनमायाँ लिम्बू, सुकबीर ताम्लिङ लगायतको मुख्य भूमिका रहेको छ ।
चलचित्र ‘थेत्लङ’का गीतमा सागर केरुङ, यादन सेर्मा र दिलिसाङो शब्द त्यसैगरी कुल्बा सुब्बा, राजु आङ्देम्बे, मनि ताम्लिङ र पबिन आङ्देम्बेको संगीत र मनु नेम्बाङ, सिता सिंगक, रामदुखी आङ्देम्बे, गंगा फियाक, यादन सेर्मा, मणि ताम्लिङ, मिजिरा सम्बाहाम्फे र बालकृष्ण वनेमको आवाज रहेको छ ।



