
बाँके, १९ जेठ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको बाँके खण्डको राप्तीसोनारी–२ स्थित ठुरिया जंगलमा हाइस (फोर्स गाडी) दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् ।
नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको बाँके प्रहरीले जानकारी दिएको छ ।
एक जनाको भने उपचारका क्रममा अस्पतालमै मृत्यु भएको हो । दुर्घटना आइतबार राति सवा १२ बजे भएको प्रहरीले जनाएको छ । घाइतेको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ । मृतक ११ जनाको शव भेरी अस्पतालमा ल्याइएको छ । मृतकको नामावली संकलन भइसकेको छैन । भेरी अस्पतालको शव गृहमा शव राखिएको छ ।
घाइते २० जना पुरुष र एक महिलाको भेरी अस्पतालमै उपचार भइरहेको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बाँके प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेकाहरु भारतका विभिन्न शहरबाट आएको पाइएको छ । नेपालगञ्ज नाकाबाट उद्धार गरेर उनीहरुलाई सल्यान पठाईँदै थियो । ना ५ ख ५९९५ नम्बरको हाइस गाडीमा ३३ जना सल्यानतर्फ जाँदै थिए । मृतक सबैको शव भेरी अस्पतालमा रहेको छ । बाँके प्रहरीले मृतकको सनाखत गर्ने काम शुरु गरिसकेको छ ।
नयाँ पेज बाट



