प्रधानमन्त्री शेरबहादुर देउवाको आदेशमा मध्यरातमा डिएसपीको सरुवा, ज्वाईंका लागि देउवाले के-के गरे ?

काठमाडौं, २६ असार । प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो दबाबमा गृहमन्त्री जनार्दन शर्माले सशस्त्र प्रहरी बलमा डिएसपीको सरुवा गरेको खुलासा भएको छ ।

सशस्त्रमा डिएसपीको नियमित सरुवा तयारी भइरहँदा देउवाले आफ्ना भतिजी ज्वाई डिएसपी दिपेन्द्र कुँवरलाई सशस्त्रको कर्मचारी प्रशासन हेर्ने शाखामा सरुवा गर्न दबाब दिएका हुन । कुँवर दुई बेसिकका डिएसपी हुन । उनको रसुवाको कमाण्ड अझै तीन महिना बाँकी रहँदै आइतबार मध्यराति कर्मचारी प्रशासन शाखामा सरुवा भएको छ । सशस्त्र प्रहरीका प्रमुख सिंहबहादुर श्रेष्ठले दवाव थेग्न नसकेको भन्दै उनको संगठनमा तीव्र आलोचना भएको छ ।

तत्कालिन गृहमन्त्री विमलेन्द्र निधीको पालामा देउवाकै दबाबमा कुँवर सशस्त्रमा निकै आकर्षक मानिने सिमा सुरक्षा गुल्म रसुवाको कमाण्डमा गत असोजमा धुन्चे सरुवा भएका थिए । त्यसअघि उनले कञ्चनपुरको गड्डाचौकीस्थित भन्सार गुल्ममा एक वर्ष कमाण्ड गरेका थिए । भन्सारमा कार्यरत हुँदा कुँवरको स्थानीय बासिन्दासँग विवाद भएपछि उनलाई एक वर्ष पुगेपछि मुख्यालय तानिएको थियो ।

सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ निकट स्रोतले दिएको जानकारी अनुसार श्रेष्ठले कुँवरलाई दुई हप्ता कुर्न आग्रह गरेपनि उनले आईजीपीको आग्रहलाई ठाडै अस्विकार गरेका थिए ।

प्रधानमन्त्रीका ज्वाईं डीएसपी कुँवर

“आइजीपी सापले अहिले सरुवा गर्दा राम्रो पर्दैन, पछि डिएसपीको नियमित सरुवामा म भनेकै ठाउँ गरौँला भन्दा पनि पावर लगाएर जर्वजस्ती गर्ने काम भयो ।” आइजीपी निकट स्रोतले भन्यो ।

सशस्त्रको कर्मचारी प्रशासन शाखामा ८ वर्षदेखि रहेका होम ज्ञवालीलाई हटाउन चर्को दबाब थियो । उनलाई एआईजी शैलेन्द्र खनालले त्यहाँ टिकाउन भूमिका खेलेका थिए । डिएसपी ज्ञवालीलाई सशस्त्रको वजेट शाखामा सरुवा गरिएको छ ।

सशस्त्रमा ३० वर्षे सेवाअबधि हटाउन तीव्र लविङ छ । सशस्त्रका केही उच्च अधिकारीहरु प्रधानमन्त्री देउवालाई खुसी बनाउन कुँवरलाई कर्मचारी प्रशासन शाखामा ल्याउनुपर्ने भन्दै लविङमा थिए ।

सशस्त्रमा सिमित कमाण्ड भएकाले पनि अझै दुई वेसिकका आधाभन्दा बढी डिएसपीहरुले कमाण्ड पाउन् सकेका छैनन् । “दुई वेसिकका हामी झण्डै आधाजति डिएसपीहरुले कमाण्ड पाएका छैनौँ, कसैलाई शक्तिको आडमा तीन चोटीसम्म कमाण्ड दिने काम भएको छ ।” सशस्त्रका एक डिएसपीले गुनासो पोखे । उनले गृहमन्त्री जनार्दन शर्माले समेत यो यथार्थलाई बुझ्न नसकेको भन्दै चर्को असन्तुष्टि समेत पोखे । श्रोत दैनिक नेपाल

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार