गोरे बयान, ‘एसएसपी खत्रीलाई समात्नुस्, सुन तस्करीको सबै कुरा खुल्छ’

काठमाडौं, ९ जेठ । साढे ३३ किलो सुन तस्करीका नाइके भनिंदै आएका चुँडामणि उप्रेती ‘गोरे’ ले वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई पक्राउ गरे सुन तस्करीको मुख्य जडसम्म पुग्न सकिने बयान दिएका छन् । चार वर्षमा ३८ क्विन्टल सुन तस्करी गर्न सफल गोरेले एसएसपी खत्रीलाई पक्राउ गरे सुन तस्करीको माथिल्लो सञ्जालसम्म पुग्न सकिने भन्दै एसएसपी खत्रीको नाम लिएका छन् ।

सार्वजनिक गर्नुअघि समितिले गोरेसँग बयान लिएको थियो । त्यसक्रममा उनले एसएसपी खत्रीलाई पक्राउ गरे सुन तस्करीको माथिल्लो ‘नेक्सस’ खुल्ने बताएका छन् । गोरेले सुन तस्करीमा सघाउने प्रहरीलाई बुझाएको रकमको लिस्टमा खत्रीको पनि नाम छ । उनले पटक–पटक गरी १ करोड १२ लाख रकम लिएको भेटिएको थियो भने तस्करीमा संलग्न अन्य अभियुक्तले पनि उनको नाम लिएका छन् ।

खत्री तिनै प्रहरी अधिकारी हुन्, जो यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए । तर, उनलाई पछि अदालतले सफाई दिएको थियो । ‘बयानका क्रममा गोरे निकै भयवित मुद्रामा देखिएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् । उनले गोरेको अदालती प्रस्तुतीबारे भने, ‘कहिले रुँदै मलाई हान्दिनु भन्थे त कहिले हाँस्ने गर्थें ।’ फेरि सुनकाण्डमा उनको संलग्नता देखिएपछि छानविन समितिले वैशाख पहिलो साता बयानका लागि पत्र काटेको थियो । तर, बयानका लागि नगएका उनी फरार छन् ।

पूर्व डीआईजी गोविन्द निरौलासँगै एसपी खत्री र एसपी विकासराज खनाल ०७२–०७३ मा विमानस्थल प्रहरीमा थिए । त्यसवेला नै गोरेले तस्करीको सेटिङ मिलाएको खुलेको छ । खत्रीबाहेक ६ प्रहरी अधिकारीलाई जिल्ला अदालत, मोरङले मंगलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । तर, उनका ड्राइभर र अङ्गरक्षक हिजो (मंगलबार) धरौटीमा छुटेका छन् । बयानका क्रममा गोरेले विमानस्थलका प्रहरी अधिकारीसँग सेटिङ मिलाएर सुन कटाउने गरेको स्वीकारेका छन् ।

उनको डायरीमा उल्लेखित विवरण अनुसारको रकम पूर्व डिआईजी निरौला, एसएसपी खत्री, एसपी विकासराज खना लगायतलाई दिएको स्वीकारेका हुन् । सुन तस्करीको अनुसन्धान गरिरहेको छानविन समितिले मंगलबार विहान काठमाडौं–८ गौरीघाटबाट गोरेलाई पक्राउ गरेको हो । उनलाई मंगलबार नै सार्वजनिक गरिएको छ । लगत्तै, जिल्ला अदालत मोरङमा हाजिर गराइएको छ ।

दिनमा ८६ किलोसम्म सुन भित्र्याएका छौं : गोरे

गोरेल बयानका क्रममा आफ्नो काम सेटिङ मिलाउने र कमिसन लिने मात्र भएको दाबी गरेका छन् । उनले बयानमा दिनमा ८६ किलोसम्म सुन भित्र्याएको जानकारी गराएका छन् । उनले बयानमा भनेका छन्, ‘यत्रो सुन आफैले लगानी गरेर ल्याउन सक्ने मेरो हैसियत छैन । तर थोरैतिनो लगानी चाँही मेरो पनि हुन्थ्यो । उनले लगानीकर्ता मोहनकुमार अग्रवाल भएको बयानमा बताएका छन् । उनले केही भारतीय पनि सुन कारोबारमा रहेको तर, उनीहरुसँग समन्वय अग्रवालले गर्ने गरेको उनको दाबी छ । ‘सुन हराएपछि मलाई दबाब थियो । त्यसैले सुन खोजीमा व्यापक रुपमा लागेका हौं’, उनले भनेका छन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार