चिकित्सा शिक्षा विधेयक संशोधन हुँदै, नेम्वाङ, माथेमा र बाँस्कोटालाई संशोधनको बुंदा तयार गर्ने जिम्मा

काठमाडौं, ८ साउन । अनसनरत डा. गोविन्द केसीले पटक–पटक उठाउँदै आएको चिकित्सा शिक्षा विधेयक संशोधन हुने भएको छ ।
विगत २५ दिनदेखि अनसनरत डा. केसीका माग सम्बोधन गर्न सरकारले चिकित्सा शिक्षा विधेयक संशोधनका लागि तयारी थालेको हो ।

संसदमा दर्ता चिकित्सा शिक्षा विधेयकका के–के बुँदा संशोधन गर्न सकिन्छ भन्ने विषयमा नेकपाका नेता सुवासचन्द्र नेम्वाङ, मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बाँस्कोटा र माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमाबीच छलफल थालिएको छ । सोमबारबाट शुरु भएको छलफल आज पनि जारी रहने जनाइएको छ । नेम्वाङ, बाँस्कोटा र माथेमाले विधेयकमा संशोधन गर्न सकिने बुँदा तय गरेपछि आजै डा.केसीसँग छलफल गर्ने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ । नेता नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, महान्यायाधिवक्ता अग्नि खरेल र शिक्षामन्त्री गिरिराजमणि पोखरेलबीच सोमबार पनि केसीका मुद्दा कसरी हल गर्ने भन्ने विषयमा कुराकानी भएको थियो ।

पराराष्ट्रमन्त्री ज्ञवाली र शिक्षामन्त्री पोखरेलबीच राजनीतिक तहमा कुराकानी भएपछि प्राविधिक विषय सल्टाउने जिम्मा नेकपा नेता नेम्वाङलाई दिइएको छ । त्यसपछि नेम्बाङले बाँस्कोटा र माथेमालाई डाकेर समस्या समाधानका लागि छलफल अगाडि बढाइसकेको नेकपा स्रोतले जानकारी दिएको छ । डा.केसीले माथेमा कार्यदलको सुझावकै आधारमा चिकित्सा शिक्षा कानुन बन्नुपर्ने माग गर्दै आएका छन्। देउवा सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेशका केही बुँदा हटाएर ओली सरकारले नयाँ विधेयक संसदमा पेस गरेपछि डा.केसी अनसन बसेका हुन् ।

गत असार १६ गतेदेखि जुम्लामा अनसन बसिरहेका डा. केसीलाई सरकारले बलपूर्वक गएको बिहीबार काठमाडौं ल्याएको हो । अहिले डा. केसी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा अनसनमा छन् । सरकारले संसदमा दर्ता गराएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता लिनुपर्ने माग डा. केसीको मुख्य माग रहेको छ । सरकारले संसदमा दर्ता गराएको विधेयकमा एउटा विश्व विद्यालयले ५ भन्दा बढी पनि सम्बन्धन दिन सक्ने, काठमाडौं उपत्यकामा पनि मेडिकल कलेज खोल्न मिल्ने तथा अस्पताल सञ्चालन गर्ने्बित्तिकै मेडिकल कलेज खोल्न मिल्ने व्यवस्था गरिएको छ ।

डा. केसीले भने यस विपरीतको माग राख्दै आएका छन् । डा. अभिषेकराज सिंहको संयोजकत्वमा डा. केसीको वार्ता टोली बनेको छ भने शिक्षा सचिव खगराज बराल नेतृत्वमा सरकारी वार्ता टोली बनाइएको छ ।
केसी पक्षले पहिले संसदबाट शिक्षा विधेयक फिर्ता लिएर मात्र वार्तामा बस्ने अडान लिंदै आएको छ भने सरकारले पनि विधेयक फिर्ता नलिने स्पष्ट पारिसकेको छ । दुई पक्षको आ–आफ्नै अडानका कारण वार्ता अघि बढ्न सकेको छैन ।

यी हुन् डा. केसीका सात माग

१) चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक तत्काल संसदमा पेश गरेर स्नातकोत्तर तहपछिको सेवा अवधिबाहेक बाँकी बुँदाहरुमा कुनै परिवर्तन नगरी यथारुपमा पारित गरियोस्। तत्पश्चात् अविलम्ब चिकित्सा शिक्षा आयोगलाई कार्यकारी उपाध्यक्षसहित पूर्णता दिएर मात्र साझा प्रवेश परीक्षा सञ्चालनलगनयत कामहरु सुचारु गरियोस् ।

२) कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस लगायत स्नातक तहका विद्यार्थी भर्ना गर्ने गरी पूर्वाधार र जनशक्ति कायम गरियोस् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र गेटा मेडिकल कलेजको काम शीघ्र अघि बढाइयोस् । पाँचथर–इलाम, डडेल्धुरा–डोटी र उदयपुरमा सरकारी मेडिकल कलेजहरु स्थापना गरियोस् ।

३) माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन निषेध गर्ने निर्णय तत्काल सदाका लागि फिर्ता गरियोस् ।

४) चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठह¥याएका पदाधिकारीहरुलाई आयोगको सिफारिस बमोजिम कार्वाही गरियोस् । त्रिविले खोसेका अधिकारहरु आइओएममा फिर्ता गर्दै आइओएमलाई थप स्वायत्तता दिइयोस् ।
५) विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा बनेको पदाधिकारी मापदण्ड निर्धारण समितिको प्रतिवेदन कार्यान्वयन गरियोस् ।

६) कथित छात्रवृत्ति व्यवस्थापन तथा परिचालन कार्यविधि २०७५ खारेज गरी चिकित्सा शिक्षा ऐनमा स्नातकोत्तर तहको छात्रवृत्तिपछि २ वर्ष अनिवार्य सेवाको व्यवस्था गरियोस् । आगामी शैक्षिक सत्रदेखि सबै निजी संस्थाहरुमा समेत चिकित्साको स्नातकोत्तर तह निःशुल्क गरियोस् ।

७) पठनपाठन ठप्प भइसकेको जानकी मेडिकल कलेजका विद्यार्थीहरुलाई उचित व्यवस्थापन गर्दै विद्यार्थीहरुलाई अलपत्र पार्नमा जिम्मेवार व्यक्तिहरुलाई तत्काल कार्वाही गरियोस् । तथा प्रदेश–२ मा सरकारी मेडिकल कलेज खोल्ने काम तत्काल शुरु गरियोस् ।

 

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार