किन बन्द भए भद्रगोलसहित एनटिभीका सबै सिरियल ?

नेपाल टेलिभिजनबाट हरेक रात ८ बजेको समाचारपछि प्रशारण हुने गरेका मनोरञ्जनात्मक टेलिसिरियलहरु केही हप्तादेखि दर्शकले हेर्न पाएका छैनन् । कार्यक्रम उत्पादक मिडिया हबको नेपाल टेलिभिजनसँग सम्झौता अवधि सकिएकाले ती सबै सिरियल बन्द भएका हुन् ।

मिडिया हबले हास्य टेलिश्रृंखला भद्रगोल (शुक्रबार), जिरे खुर्सानी (बिहिबार) मेरी बास्सै (मंगलबार) र ब्रेक फेल (सोमबार) तथा पारिवारिक टेलिश्रृंखला परिचय (आइतबार) उत्पादन गरेर प्रशारण गर्दै आएको थियो । ती सिरियल प्रशारणका लागि नेपाल टेलिभिजनसँग तीन वर्षका लागि गरेको सम्झौता एक्सपायर्ड भएको मिडिया हबका सञ्चालक सोम धितालले बताए ।

मिडिया हबले १९ वर्षदेखि एनटिभीसँग समय किनेर सिरियल प्रशारण गर्न थालेको हो । विशेषतः नेपालमा हास्यकलाकारहरु जन्माउनमा मिडिया हबको ठूलो भूमिका रहेको मानिन्छ ।

राति साढे आठ बजेदेखि ४० मिनेट ती सिरियल प्रशारण हुन्थे । टेलिभिजनका लागि ‘पिक’ मानिने यो समयमा अहिले एनटीभीले ‘फिलर’ हालिरहेको छ ।

यो समय खरिद गर्नका लागि एनटीभीले हालै नयाँ टेन्डर आह्वान गरेको छ । मिडिया हब फेरि पनि उक्त समय खरिद गर्न तयार छ, तर मूल्य घटाउनुपर्ने उसको शर्त छ ।

‘पहिलेको मूल्यमा हामीले धान्न सकेनौं, त्यसैले मूल्य घटाएर फेरी टेन्डर निकाल्न आग्रह गरेका छौं,’ धितालले अनलाइनखबरसँग भने ।

मिडिया हबले १९ वर्षदेखि एनटिभीसँग समय किनेर सिरियल प्रशारण गर्न थालेको हो । विशेषतः नेपालमा हास्यकलाकारहरु जन्माउनमा मिडिया हबको ठूलो भूमिका रहेको मानिन्छ । तर, यसबीचमा आर्थिक समस्याका कारण यी सिरियलहरु पटक-पटक बन्द हुने गरेका थिए । अहिले भने सबै हिसाब करिब-करिब राफसाफ रहेको धिताल बताउँछन् ।

‘भूकम्प र नाकाबन्दीको समयमा हामी निकै संकटमा पर्‍यौं,’ उनले भने, ‘त्यतिबेला खाएको घाटा अहिलेसम्म पनि कभर गर्न सकेका छैनौं ।’

मिडिया हबले पछिल्लो समय आइतबार प्रशारण हुने परिचयका लागि ४० मिनेटको १ लाख ७७ हजार ७ सय ७७ र अन्य कमेडी सिरियलका लागि दुई लाख ७६ हजार पाँच सय तिर्दै आएको थियो । प्रत्येक वर्ष १० प्रतिशतका दरले मूल्य बढ्ने गरी सम्झौता गरिएको थियो । तर, यति रकम अब तिर्न सक्ने अवस्था नरहेको धिताल बताउँछन् ।

‘हामी घाटामा चलेर पनि नेपाली कलाकारिताका लागि अटुट योगदान दिइरहेका छौं । तर, सँधै घरबाट पैसा ल्याएर चलाउन सक्ने अवस्था हुँदैन, त्यसैले एनटीभीले सोचिदिनुपर्छ,’ उनी भन्छन् ।

यदि मूल्य घटाउन एनटीभी तयार भएमा चाँडै सबै सिरियलहरु सुचारु हुने उनको भनाई छ । साथै नयाँ सिरियल थप्ने विषयमा पनि सोचिएको उनले बताए ।

‘एनटीभीले पैसा घटायो भने हामी कुनै पनि सिरियल बन्द गर्दैनौं, समय यताउति हुन सक्छ,’ धितालले भने । साथै उनले केही समयअघिदेखि बन्द रहेको ‘तितो सत्य’ पनि पुनः सुरु हुन सक्ने बताए ।

‘उहाँहरु (दिपकराज गिरी र दीपाश्री निरौला) ले भनिरहनुभएको छ फेरि सुरु गर्नुपर्योभनेर । हामीले निर्णय लिइसकेका छैनौं,’ धितालले भने ।

लोकप्रिय हास्य टेलिश्रृंखला भद्रगोलका निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ मिडिया हब र एनटिभीको कुरा मिलेको खण्डमा आफूहरु फेरि सिरियल बनाउन तयार रहेको बताउँछन् ।

‘भद्रगोल बन्द भएको ४-५ हप्ता भयो । अहिलेसम्म उहाँहरुले केही खबर गर्नुभएको छैन । सम्झौता अवधि बाँकी नै छ । त्यसैले उहाँहरु दुई पक्षको कुरा मिल्यो भने हामीलाई कुनै समस्या छैन,’ उनले भने ।

आफूहरुसँगको सम्पूर्ण हिसाबकिताब मिडिया हबले चुक्ता गरिसकेको पनि घिमिरेले जानकारी दिए ।

यतिबेला भद्रगोलको टिम फिल्म निर्माणको तयारीमा छ । एक वर्षअघि नै फिल्म ‘फनफनी’ निर्माण गर्ने उनीहरुले घोषणा गरेका थिए ।

 

 

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार