दरबारको निर्देशनमा दोरम्बा हत्याकाण्ड : प्रचण्ड

दोरम्बा (रामेछाप) — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले दोरम्बा हत्याकाण्ड तत्कालीन राजदरबारको निर्देशनमा भएको बताएका छन् ।

तत्कालीन शाही सेनाद्वारा दोरम्बामा कब्जामा लिइ हत्या गरिएका २१ जना माओवादी कार्यकर्ताहरुका परिवारका सदस्यलाई सम्मान गर्न बिहीबार रामेछापको दोरम्बा पुगेका दाहालले दोरम्बा घटनामा दरबारको आदेश मुख्य रहेको बताएका हुन् । यसअघि सेनालाई उक्त घटनाको जिम्मेवार भन्दै कारबाहीको माग हुँदै आएको थियो ।

दोरम्बा घटनामा मारिएकाका आफन्तजनलाई दोसल्ला ओडाएर सम्मानपछि बोल्दै दाहालले दोरम्बाको बलिदानले नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका निभाएको बताए । उनले दोरम्बा हत्याकाण्ड कुनै सेनाको सनकमा नभई तत्कालीन दरबारको ठाडो निर्देशन र सम्लग्नतामा भएको उल्लेख गरे । टाउकोको मोल तोक्नेहरुको डिजाइनमा हत्याकाण्ड भएको भन्दै उनले अन्तिम जित षड्यन्त्रकारीहरुको नभएको बताए ।
दोरम्बा घटना भएको पन्ध्र वर्षपछि पहिलो पटक दोरम्बा पुगेका दाहालले खैरेनीघाटदेखि दोरम्बा हुँदै शैलुंगसम्मको सडकलाई युद्ध पर्यटकीय सडकको रुपमा विकास गरिने आश्वासन दिए । दोरम्बा घटनामा सहिद भएका परिवारका सदस्यलाई लालनपालन र शिक्षादीक्षाको व्यवस्था मिलाउने आश्वासन पनि दाहालको थियो ।

सरकार र युद्धरत माओवादीबीच दाङको हापुरेमा वार्ता भइरहेको बेला २०६० साउन ३२ गते दोरम्बामा एउटा विवाह कार्यक्रम र पार्टीको नियमित बैठकमा भेला भएका १९ जना माओवादी जिल्ला नेताहरुलाई तत्कालीन सेनाले नियन्त्रणमा लिई डडुवाको डाँडाकटेरीमा लगेर हत्या गरेको थियो । मारिनेमा माओवादी जिल्ला जनसरकार प्रमुख बाबुराम लामालगायत थिए । उनीहरु स्थानीय शिक्षक युवराज मोक्तानको घरमा भेला भएका थिए ।

न्यायिक आयोगले दोरम्बामा सेनाले कब्जामा लिइ माओवादी कार्यकर्तालाई हत्या गरेको निष्कर्षसहितको प्रतिवेदन दिएको थियो । प्रतिवेदनका आधारमा सेनाले घटनामा नेतृत्व गर्ने अधिकारीहरुलाई कारबाहीसमेत गरेको थियो ।

काठमाडौंबाट सेनाको हेलिकप्टर चढेर दाहाल सीधै माओवादी कार्यकर्ताको सामूहिक चिहान भएको स्थान डडुवाको डाँडाकटेरीमा अवतरण गरेका थिए । दाहालले मैनबत्ती बालेर सहिदहरुको सम्मान गरेका थिए । त्यसपछि मात्रै उनी दोरम्बा पुगेका हुन् ।

नेकपाको दोरम्बा गाउँपालिकाले गरेको सम्मान कार्यक्रममा केन्द्रीय सदस्य देवशंकर पौडेललगायतले दोरम्बा घटनाका बारेमा बोलेका थिए ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार