रात संग हराएको सपना * हाङओजा थेगिम


गोधुलीले डांडालाइ सिरानी लगाए पछि
बज्रले पनि रोक्न सक्दैन रातलाइ
उज्यालोको छातिमा अंद्यारोले गोलि ठोके पछि
कुनै ढालले पनि रोक्न सक्दैन रातलाई
बरु रातबाट उल्का र धुमकेतुहरु
छुट्न सक्छन
आखिर यहाँ रात निरन्तर आएकै हुन्छ
अंद्यारोले स्वर्णिम सपना पाएकै हुन्छ ।

एउटा पैलाले कुल्चेर फूलका गुच्छाहरु
अर्को पैलाले कुल्चेर स्वर्णिम इच्छाहरु
सहज या जबरजस्त रात आउने गर्छ
रात आए पछि उस्को बंजरभूमीमा
धेरै- सारै धेरै सपनाहरु उमार्ने गर्छ
रातका सपनाहरु प्रतिक्षाको बिम्ब प्रतिबिम्बहरु
बुन्नेगर्छ रातसंग आफ्नो शुभ सपनाहरु
तुन्नेगर्छ रातसंग आफ्नो अशुभ सपनाहरु

सपनाका खातखातहरु कोचेर ढाकरमा
सगरमाथाको आरोहण शुरुगर्छ रातसंग
खोइ ? ममताज पनि ब्युझन्दैन
डराइ रहेको छ आफ्नै ताजमहलसंग
सायद कुम्बकर्ण सपनादेख्दै होला निंदमा
आखिर यहाँ त निरन्तर रात आएकै हुन्छ
अंद्यारोले स्वर्णिम सपना हराएकै हुन्छ ।

रातको निश्पट्तामा–
सपनाले हनुमान मनाइ रहेको बेला
एकाध दोकाध सपनाहरु
असनबाट निस्केर धरहरा चढ्छन
गिज्याउन थाल्छ सपना कुतुब मिनारबाट
यदि इफेल टावरमा होचिंन्दै जान्छ भने
चढेर अझ माथी इफेल टप टावरमा
जब आकाश र धरतीको दुरि नाप्छ
माथी आकाश अपरिमेय माथी छ
तल जमिन अपरिमित तल छ
फेरि यहाँ बग्रेल्ती सपनाहरु उम्रन थाल्छन
बुध्द, गान्धी, प्लेटो, सेल्ली र साइरस
वाशिंटना,पेरिस, यु.के.र टोकियो
तर सपना त्यसो नहुनु पनि सक्छ
डाक्टर, इन्जिनियर,वकिल रपाइलट भएर
सपना माथी – धेरै माथी उडि रहेकोबेला
अगाडि खस्यो भने क्षेप्यास्त्र बनेर रितो थालको
पछाडी बस्यो भने खडेरी बनेर हाल बिहालको
खै यहाँ त——!
कस्ले सुनिदिने यो रात आएकोगन्थन
कस्ले पढी दिने यो सपना हराएको बिज्ञापन ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार