मेरो नामलाई कुप्रचार गरियो, पार्टीले निर्णय गरे पनि रविन्द्रको क्षेत्रमा चुनाव लड्दिनँ : वामदेव

काठमाडौं, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमले आफूलाई बदनाम गराउने गरी गलत कुप्रचार गरिएको बताएका छन् ।

हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रबाट चुलाव लड्ने तयारी गरेको भन्दै आफूविरुद्ध कुप्रचार थालिएको नेता गौतमले बताएका छन् ।
आज एक एक प्रेस नोट सार्वजनिक गर्दै नेता गौतमले भनेका छन्, ‘फेरि कुत्सित उद्देश्य प्रेरित कुप्रचार मेराविरुद्ध शुरु भयो ।

नेपाली राजनितिक आकाशमा उज्वल भविष्यसहित उदाएका मेरा प्रिय कमरेड रविन्द्र अधिकारीको असामयिक निधनबाट ठूलो धक्का महसुस गर्दै श्रद्धाञ्जली दिन पोखरा पुगेको घटनालाई लिएर मलाई दिवंगत रविन्द्रको निर्वाचन क्षेत्रवाट उम्मेद्वार बन्ने आशा राखेको आरोप लगाइएको छ । यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षड्यन्त्रमूलक विचार राखेर शुरु गरिएको कुप्रचार मात्र हो ।’

आफ्नो इच्छा विपरित पार्टीले निर्णय गरे पनि रविन्द्रको निर्वाचन क्षेत्रमा आफू उम्मेद्वार बन्न नसक्ने स्पष्ट पारेका छन् । उनले उपनिर्वाचन हुँदाको अवस्थामा रविन्द्रको परिवारका सदस्यलाई नै उम्मेद्वार बनाउन न्यायपूर्ण हुने र आफू त्यसका लागि लागि पर्ने पनि बताएका छन् ।

उनले आफू रविन्द्रको अन्तिम विदाइमा स्वार्थ प्रेरित भएर नगएको बताएका छन् ।
ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा बुधबार ज्यान गुमाएका अधिकारी कास्की क्षेत्र नम्बर–२ बाट गएको संघीय निर्वाचनमा निर्वाचित भएका थिए ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार