ओलीको अडान, ‘जवजको विकल्प हुन सक्दैन’, प्रचण्डको तर्क ‘जबजलाई बाइबल–कुरान नबनाऊ’

काठमाडाैं, ३ जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जननेता मदन भण्डारीको स्मृतिमा आयोजना गरेको कार्यक्रममा भण्डारीको राजनीतिक योगदानको चर्चा भन्दा पनि पार्टीको अबको वैचारिक सिद्धान्तलाई लिएर एक–अर्काको आलोचनामा समय खर्चेका छन् ।

एकीकरणको एक वर्ष पूरा हुँदा बल्ल २१ जनसंगठनको एकता गर्न भ्याएको नेकपाका नेताहरु एउटै झण्डामुनि आए पनि मन भने अझै नमिलिसकेको आज आयोजित मदन–आश्रित स्मृति दिवसमा स्पष्ट रुपमा देखिएको थियो ।

सत्तारुढ दल नेकपामा वैचारिक मतभेद छताछुल्ल हुने क्रम आज पनि दोहोरियो । दुई अध्यक्ष रहेको सो पार्टीमा एक अध्यक्षले जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्तबाटै अघि बढ्ने अडान लिइरहँदा अर्का अध्यक्ष भने सो सिद्धान्तलाई परिमार्जन गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याइरहेका छन् ।

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टी जनताको बहुदलीय जनवादको सिद्धान्तबाटै अगाडि बढ्ने प्रष्ट पारेका छन् ।

२६ औं मदन–आश्रित स्मृति दिवस तथा नेकपा एकीकरणको एक वर्ष पुगेको अवसरमा नेकपाले काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले बहुदलीय जनवादको विकल्प हुन नसक्ने बताएका हुन् । उनले पार्टी स्व. मदन भण्डारीको बिचारबाट अगाडि बढ्ने र यसलाई छाड्न नमिल्ने स्पष्ट पारे ।

मदन भण्डारीले अघि सारेका बिचारबाटै पार्टी अहिलेको अवस्थामा पुगेको भन्दै ओलीले स्व. भण्डारीका विचार बाहेक अर्को बाटो नभएको बताए । प्रधानमन्त्री ओलीले पार्टीभित्र असान्दर्भिक प्रसङ्ग चल्ने गरेको भन्दै आक्रोशमा अभिव्यक्ति नदिन पनि नेता तथा कार्यकर्तालाई सचेत गराए । पार्टी एकीकरण प्रक्रिया केही प्रतिक्रियावादी तत्वलाई चित्त नबुझेको भन्दै उनले चुनौतीका बीच पार्टी एकीकरण सम्भव भएको बताए ।

ओलीले अहिले बहुमतको सरकार भए पनि अर्को पटक दुइ तिहाईको सरकार बन्ने दाबी गरेका छन् । उनले सरकारले जनचाहना अनुसारको काम गरिरहेको भन्दै भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्री ओलीले पार्टी एकताका अधिकांश काम टुंगिएको भन्दै बाँकी काम पनि चाँडै पूरा गर्ने प्रतिबद्धता जनाए । उनले सरकारले राम्रो काम गर्दा समेत सरकार र नेतृत्वको आलोचना गर्नु बिडम्बना भएको बताए ।

उनले सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई विवादमा ल्याइएको भन्दै अन्तर्राष्ट्रिय प्रचलन विचार गर्न आग्रह गरे । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले मदन भण्डारीको बिचारलाई परिमार्जन गर्दै अगाडि बढ्ने बताए ।

उनले मदन भण्डारीको बिचार बोकेर बस्ने कि अगाडि बढ्ने भन्ने बहसको बिषय भएको भन्दै जनताको बहुदलीय जनवादलाई सूत्रको रुपमा घोक्ने, कण्ठ गर्ने नभई विज्ञानको रुपमा प्रयोग गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए । उनले जनताको वहुदलीय जनवादलाई बाइबल, कुरान जस्तो फेर्नै मिल्दैन भन्ने तर्क गलत भएको बताएका छन् । केही नेताहरु अहिले पनि पुरानो बिचारबाट अगाडि बढेको भन्दै उनले पुरानो बिचार त्याग्न पनि आग्रह गरे ।

अध्यक्ष दाहालले अहिले पनि कम्युनिष्ट पार्टीलाई हेप्ने, बद्नाम गर्ने, अपमानित गर्दै र विभाजित गर्ने षड्यन्त्र भईरहेको भन्दै त्यो षड्यन्त्र पूरा हुन नदिने बताए । मदन–आश्रित दिवस मनाई रहँदा मदन भण्डारी र जीवराज आश्रितका हत्यारा पत्ता लगाउने बिषयमा भने कसैले पनि बोलेनन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार