कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

बालक अपहरण गरेर हत्या गर्नेलाई गोली हानेर समातियो

पर्सा, १५ जेठ । पर्साको वीरगञ्ज महानगरपालिका–३ प्रगतिनगरका ८ वर्षीय छोरा करण साहको अपहरणपछि हत्या गर्ने अपहरणकारीलाई प्रहरीले गोली हानी समातेको छ ।

स्थानीय शम्भु साहका ८ वर्षीय छोरा करण साहको अपहरणपछि हत्या गर्ने तीन जनालाई भाग्दै गर्दा प्रहरीले गोली हानी पक्रिएको हो । अपहरणकारीले बोलाएको स्थानमा पुगेको प्रहरी टोलीलाई शव देखाएर उनीहरु भाग्न खोजेपछि गोली हानेर नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिएका छन् । प्रहरीले अपहरण र हत्यामा संलग्न तीन जनालाई गोली हानेर नियन्त्रणमा लिएको हो ।

विकास शर्मा, सिकिन्द्र साह र रामदिनेश महतोलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको हो । अपहरणकारीको कम्मरमुनि गोली लागेको छ । गत शुक्रबार अपहरणमा परेका करणको शव बाराको कलैया उपमहानगरपालिका–२५ को खौरहीस्थित खोलामा फेला परेको हो ।

प्रहरीका अनुसार, अपहरणपछि उनीहरुले शुरुमा ३० लाख फिरौती मागेका थिए । तर, परिवारका सदस्यले धेरै पैसा नभएको भन्दै ५ लाखमा सहमति गरेका थिए । तर बालकको हत्या गरिसकेका कारण पैसा दिएपछि मात्रै बालक फिर्ता दिने अडान उनीहरुले लिएका थिए ।

अपहरणकारीले बालक फिर्ता गर्न आनाकानी गरेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । नियन्त्रणमा लिइएकामध्ये शर्मा भारतीय नागरिक हुन् । शम्भुको घर नजिकै डेरा गरी बस्दै आएका शर्मा अपहरणका योजनाकार रहेको प्रहरीको दाबी छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार