सुडान घोटाला : पूर्व प्रहरी महानिरीक्षक ठकुरीले गरे सर्वोच्चमा ‘आत्मसमर्पण’

काठमाडौं, १९ असार । सुडानको डार्फरस्थित मिसनमा बख्तरबन्दका सामान पठाउँदा अनियमितता गरेको आरोपमा दोषी ठहर पूर्व प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीले आज (बिहीबार) सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन् ।

उनलाई सर्वोच्च अदालतबाट डिल्लीबजार कारागार पठाइने भएको छ । सर्वोच्च अदालतको फैसला पुनरावलोकनको प्रक्रियामा अघि बढेकाले थुनामा नबसी मुद्दाको सुनुवाई गर्न उनले दिएको निवेदन अस्वीकृत भएको थियो ।

सर्वोच्चले पूर्व प्रहरी महानिरीक्षकद्वय हेमबहादुर गुरुङ र रमेशचन्द ठकुरीमाथि एक वर्ष कैद र ४० हजार जरिवान फैसला भएको थियो । सर्वोच्च अदालतले पूर्व प्रहरी महानिरीक्षक राणाले प्रारम्भदेखि नै खरिद सम्झौताको शर्त विपरीत सामान आपूर्ति गर्ने काममा खेलेको निर्णायक भूमिकाका कारण भ्रष्टाचारजन्य कसुर गरेको उल्लेख गरेको छ ।

पूर्व प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरी
पूर्व प्रहरी महानिरीक्षक गुरुङ आपूर्ति नै नभएका स्पेयर पार्टस बापत समेत भुक्तानी दिएकोमा कसुरदार ठहरिएका छन् । यस्तै ठकुरीले खराव र गुणस्तरहिन सामान सप्लाई भएको जान्दा–जान्दै रकम भुक्तानी नरोकी विक्रेता कम्पनीलाई भुक्तानी दिने काम गरेकोमा समेत जिम्मेवार देखिएका छन् । सर्वोच्चले उनी मातहतका अन्य प्रहरी अधिकारीहरु पनि एपीसी खरिदमा कसुरदार ठहरिएका छन् ।

२०६८ साल फागुन १ गते विशेष अदालतले सुडान भ्रष्टाचार मुद्दाको फैसला गरेको थियो । फैसलामा चित्त नबुझाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरी अधिकारीहरु पुनरावेदनका लागि सर्वोच्च पुगेका थिए । २०६७ जेठ र असारमा चार जनाको पुनरावेदन निवेदन दायर भएकोमा चार वर्षपछि सुनुवाई शुरु भएको थियो ।

के हो ? सुडान मिसन र भ्रष्टाचार मुद्धा
सुडानमा खटिने प्रहरीको मिसनका लागि आवश्यक बन्दोबस्तीका सामान खरिदका क्रममा भएको भ्रष्टाचार प्रकरणको छानविनपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कूल २८ करोड ८१ लाख मागदाबी गरी विशेष अदालतमा भ्रष्टाचारमुद्दा दायर गरेको थियो ।

२०६८ साल जेठ २४ गते दायर मुद्दामा तीन प्रहरी पूर्व महानिरीक्षकसहित ३४ प्रहरी अधिकारी, ठेकेदार एस्यूर्ड रिस्क लिमिटेडका मिचेर राडार र उनका नेपाल प्रतिनिधि शम्भु भारतीविरुद्ध मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दामा विशेष अदालतले २८ करोड ४० लाख रुपैंया भ्रष्टाचार भएको फैसला भएको थियो । विशेष अदालतका तत्कालि अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरु ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको फैसलाले ठेकेदार, उनका प्रतिनिधि र तीन पूर्व प्रहरी प्रमुखबाट एक अर्ब १४ करोड रुपैंया असुल्नुपर्ने ठहर गरेको थियो ।

विशेष अदालतले कम्पनीका डाइरेक्टर माइकल राईडरलाई दुई वर्ष कैद र ५६ करोड ८० लाख जरिवाना, ठेकेदारका प्रतिनिधि शम्भु भारतीलाई एक वर्ष कैद र १४ करोड २० लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो ।

यस्तै पूर्व प्रहरी प्रमुखहरु ओमविक्रम राणालाई १७ करोड ६ लाख, हेमबहादुर गुरुङलाई ६ करोड ४८ लाख र रमेश चन्द ठकुरीलाई ४ करोड ८५ लाख रुपैयाँ जरिवाना गर्ने फैसला भएको थियो । तीनजना पूर्व प्रहरी प्रमुखहरुमाथि दुईरदुई वर्ष कैद सजायको फैसला पनि भएको थियो ।

समाचार श्रोत :नया पेज

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार