दुई विमान र एउटा बस चढेर धनगढी पुगेका थिए चौंथो संक्रमित युवा

काठमाडौं, १५ चैत । विश्वव्यापी महामारीको रुप लिएको कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट बच्ने पहिलो उपाय भीडसँग दूरी बढाउनु नै हो । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरस संक्रमणबाट बच्ने पाँच उपायमध्ये प्रमुख सुरक्षाको उपाय नै भीडबाट जोगिनु बताएको छ ।

डब्ल्युएचओको यो सुझाव पालना गर्दै विश्वका अधिकांश देशरुले जस्तै नेपालले पनि नागरिकलाई भीडबाट जोगाउन ‘लकडाउन’ आदेश जारी गरेको छ । तर, अझै पनि सरकारको आदेश देशका विभिन्न जिल्लामा उल्लंघन भइरहेका छन् । यो त भयो संक्रमित नभएकाहरुको अवस्थाको हकमा । अझ संक्रमित भएकाहरुको हकमा त जनसम्पर्क झन खतरा हुन्छ ।

तर, हिजो (शुक्रबार) नेपालमा भेटिएका चौंथो कोरोना भाइरस संक्रमित युवाको दुवईदेखि धनगढीसम्मको यात्रामा सयौं मानिसहरुसँग सम्पर्क भएको देखिएको छ । संक्रमित युवाको दुवईदेखि धनगढीसम्मको यात्रामा तीन विमान र एउटा माइक्रो बस प्रयोग भएको पाइएको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईबाट विमानमार्फत भारतको दिल्ली हुँदै ती व्यक्ति यही चैत ७ गते नेपाल आइपुगेका थिए । उनले दुबईबाट दिल्लीसम्म फ्लाई दुबईको ईके ०१५० नम्बरको जहाज प्रयोग गरेका थिए । दिल्लीबाट भिस्तरा एयर चढेर उनी चैत ७ गते साँझ ५ बजे काठमाडौं आइपुगेका थिए ।

नेपाल आएको दिन संक्रमित ती व्यक्ति काठमाडौंमा आफन्तसँग बसेको स्रोतले जानकारी दिएको छ । मार्च २० अर्थात् चैत ७ गते उनी धापासीमा रहेको मामाको घरमा बास बसेपछि चैत ८ गते उनी बुद्ध एअरको विमानमार्फत् नेपालगञ्जसम्म गएका थिए ।

नेपालगञ्जबाट माइक्रो बसमा उनी धनगढी पुगेको स्रोतले बताएको छ । घरमै रहँदा स्वास्थ्यमा समस्या देखिएपछि चैत ११ गते उनी सेती प्रादेशिक अस्पताल धनगढीमा बिहान ११ बजे भर्ना भएका थिए ।

त्यस लगत्तै परीक्षणका लागि उनको नमुना काठमाडौं पठाइएको थियो । नतिजामा उनी संक्रमित भएको पाइएपछि शुक्रबार पत्रकार सम्मेलन गरेर स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो ।

संक्रमित युवकसँगै थिए १ सय ८ नेपाली नागरिक

स्वास्थ्य सेवा विभागका अनुसार संक्रमित युवकसँगै दिल्लीबाट १ सय ३० यात्रु नेपाल आएका थिए । उनीहरुमध्ये १ सय ८ जना नेपाली नागरिक रहेको पनि विभाग स्रोतले जानकारी दिएको छ । अहिले उक्त विमानमा आएका अन्य नेपाली यात्रुहरुको पनि खोजी भइरहेको समेत विभागले जनाएको छ ।

संक्रमित युवकसँगै दिल्लीबाट आएका थिए १३० यात्रु
स्वास्थ्य सेवा विभागका अनुसार संक्रमित युवकसँगै दिल्लीबाट १३० यात्रु नेपाल आएका थिए । तीमध्ये १०८ जना नेपाली नागरिक थिए । अहिले उक्त विमानमा आएका अन्य नेपाली यात्रुहरुको पनि खोजी भइरहेको समेत विभागले जनाएको छ ।

संक्रमित युवासँगै बुद्ध एअरमा थिए ७४ यात्रु र ४ क्रु मेम्बर
चैत ८ गते बिहान ८ बजेका लागि संक्रमित युवाले वुद्ध एअरको विमानमार्फत् नेपालगञ्जको टिकट काटेका थिए । उनी वुद्ध एअरको फ्लाइट नम्बर यु४–४५१ मार्फत् बिहान ८ः२२ मा नेपालगञ्जका लागि उडे ।

फ्लाइट टाइम ८ बजेको भए पनि उक्त दिन विमान २२ मिनेट ढिलो उडेको थियो । उक्त फ्लाइटमा ७४ जना यात्रु र चार जना चालक दलका सदस्य थिए ।

उक्त फ्लाइटमा ५३ जना वयस्क, १७ जना बालबालिका र चार नाबालक गरी कुल ७४ यात्रु उठेका थिए । त्यसैगरी विमानमा चालक दलका चार सदस्य रहेको त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको छ । का अनुसार थिए ।

अहिले स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले वुद्ध एअरमा सँगै यात्रा गरेका यात्रु तथा दिल्लीबाट काठमाडौंसम्म सँगै आएका यात्रुहरुको समेत खोजबिन गरिरहेको छ । उनीहरुलाई चाँडै नै क्वारेन्टाइनमा राखिने विभागले जनाएको छ ।

संक्रमितसँग युवासँग सम्पर्कमा रहेका व्यक्तिहरुको थालियो निगरानी
कैलाली प्रशासनले ती संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरूको निगरानी थालेको जनाएको छ ।
संक्रमित युवा धनगढीस्थित घर पुगेपछि अस्पताल भर्ना हुँदासम्म उनको सम्पर्कमा आएकाहरूको निगरानी थालिएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी गराएका छन् ।

‘संक्रमित व्यक्ति घर पुगेपछि उनको सम्पर्कमा आएकाहरूको निगरानी शुरु भएको छ, कोही सम्पर्कमा पनि आइसकेका छन्,’ सहायक प्रमुख जिल्ला अधिकारी जोशीले भने, ‘उनीसँग भेटघाट गरेकाहरूलाई सम्पर्कमा आउन आग्रह गरेका छौँ ।’

दुबईबाट धनगढी पुगेका कोरोना संक्रमित व्यक्ति तीन दिनको अवधिमा सम्पर्कमा आएका सबैको खोजी थालिएको कैलाली जिल्ला प्रशासनले जानकारी दिएको छ ।
कोरोना भाइरस संक्रमण पुष्टि भएका धनगढीका ती व्यक्तिको परिवारका सदस्यहरूको परीक्षणका लागि नमूना संकलन गर्ने तयारी भइरहेको सेती प्रादेशिक अस्पताले जनाएको छ ।

‘संक्रमण फैलिन नदिन प्रमुख रूपमा परिवारका सदस्यलाई निगरानीमा राखिएको छ । उनीहरूलाई अहिले अस्पताल ल्याएर संक्रमण जाँचका लागि नमूना दिने तयारी भएको छ,’ सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. जगदीश जोशीले भने ।

यसअघि नेपालमा दुई पुरुष र एक महिलालाई कोरोना संक्रमण भइसकेको छ । शुरुका एक पुरुष उपचारपछि स्वस्थ भइसकेका छन् भने एक युवती र युवकको टेकु अस्पतालमा उपचार भइरहेको छ । त्यसपछि संक्रमित भेटिएका उल्लिखित चौथा व्यक्तिको भने धनगढीमै उपचार भइरहेको छ ।

नयाँ पेज बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार