भारतमा रहस्यमयी रोगको आतंक, पाँच सय बढी बिरामीको रगतमा भेटियो सीसा

काठमाडौं, २४ मंसिर । कोभिड–१९ को कहरका बीच भारतको आन्ध्र प्रदेशको पश्चिम गोदावरी जिल्लाका तीन लाखभन्दा बढी जनसंख्या भएको एलुरु शहरमा एक रहस्यमयी रोग देखा परेको छ ।

यो रोगले शनिबार बेलुकादेखि ५ सय बढीलाई गाँजिसकेको छ र एक व्यक्तिको मृत्यु पनि भइसकेको छ । ती सबै व्यक्तिमा एउटै किसिमको लक्षण देखियो जसमा मानिसहरुलाई छारे रोग लागे जस्तै हुने र त्यसपछि बेहोस भइरहेका थिए र चाँडै नै निको पनि भइरहेका थिए । फेरि केही घण्टाभित्र नै उनीहरु अस्पतालबाट छुट्टी लिन लायक पनि हुन्थे ।

इण्डियन एक्सप्रेसका अनुसार राज्यका स्वास्थ्यमन्त्री ए. क. कृष्णा श्रीनिवासले प्रभावित ५१० मानिसमध्ये ४३० जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् र अहिलेसम्म एक व्यक्तिको मृत्यु भएको छ ।

उनले भने, ‘म मानिसहरुलाई नडराउन अपिल गर्न चाहन्छु । बिरामीको संख्या कम भएको छ । आज ४० भन्दा कम बिरामी देखिएका छन् । मलाई थाहा छ, मानिसहरु डराएका छन् । हामी यो रोगको कारण बुझ्ने कोशिस गरिरहेका छौं ।’

स्वास्थ्य अधिकारीले यसको कारण खराब खाना र पानी हो कि भन्ने आशंका गरेका छन् । नयाँ दिल्लीमा एम्सको एक टिमको प्रारम्भिक रिपोर्टमा रगतको नमूनामा सीसा (लेड) र निकल भेटिएको छ ।

एलुरु सरकारी अस्पतालका सुपरिटेन्डेन्ट डा. एवी मोहनले भने, ‘हामीले थप नमूना पठाएका छौं र रिपोर्टको प्रतिक्षा गरिरहेका छौं ।’ हैदराबादमा नेशनल इन्स्टिच्युट अफ न्यूट्रिशन (एनआईएन) का एक वैज्ञानिकले भने, ‘यसले न्यूरोलोजिक समस्यातर्फ ईशारा गर्छ । सम्भावित हेभ मेटल कन्टेमिनेशनको अनुसन्धान गरिनेछ ।’

एनआईएनको एक समूहले पानी, खाने तेल र चामलको नमुना लिएको छ । यो समूहमा सामाजिक स्वास्थ्य विज्ञ, महामारी विशेषज्ञ, माइक्रोबायोलोजिस्ट र खाद्य सुरक्षा विशेषज्ञ समावेश छन् । एजेन्सी

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent