दुबइकी राजकुमारीलाई किन बनाए आफ्नै बाबुले बन्धक ?

सन् २०१८ मा विदेश भाग्ने प्रयास गरेकी दुबईका अर्बपति शासककी छोरीको गोप्य रेकर्डिङ बाहिरिँदा व्यापक चर्चा सुरु भएको छ । सो भिडियोमा उनले आफू एक भिल्लामा जेल समान थुनिएर बस्नु परेको र मेडिकल आवश्यकताहरुको समेत कुनै पहुँच नभएको बताएकी छन् ।

शेख लतिफा युएईका उपराष्ट्रपति एवम् दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मक्तोमकी छोरी हुन् । यसअघि, उनी २०१८ को मार्चमा सार्वजानिक रूपमा देखा परेकी थिइन् । त्यति बेला उनी पानीजहाजबाट भाग्न खोजिरहेकी थिइन् । तर, एमिरती सुरक्षा बलले त्यहाँ छापा मारी उनलाई फेरि दुबई फर्काइ दिएको उनलाई भाग्नमा मद्दत गर्ने दुई व्यक्तिले बताएका थिए । त्यो यूएईबाट बाहिरिने उनको दोस्रो प्रयास थियो । त्यसअघि, उनी २००२ मा किशोरी हुँदा पनि विदेश पलायन हुने कोशिस गरेकी थिइन् ।

बीबीसी प्यारानोमाले प्राप्त गरेको केही महिनाअघिको उनको भिडियो मंगलबार राति प्रशारित ‘द मिसिङ प्रिन्सेस’ भन्ने डकुमेन्ट्रीमा देखाइएपछि नै अचानक उनी फेरि चर्चामा आएकी हुन् । जसमा राजकुमारी लतिफाले भनेकी छन्, ‘मलाई यहाँ बन्दी बनाएर राखिएको छ । यो भिल्ला अहिले जेलमा परिणत भएको छ । सबै झ्यालहरु बन्द गरिएको छ र म एक्लै छु । यहाँ कुनै मेडिकल मद्दत छैन । कुनै ट्रायल छैन । कुनै अभियोग छैन । केही पनि छैन ।’

उनले सो भिडियो आफ्नो मोबाइल फोनमा बाथरुमभित्रबाट गोप्य रूपमा खिचेको बीबीसीले जनाएको छ । उक्त प्रसारणका अनुसार दुबई फर्काइएको एक वर्षपछि उनी एक व्यक्तिको मद्दतले आफ्नी साथी टिना जुहेइनेनसँग सम्पर्कमा रहनसकेकी हुन् । त्यसपछि टिनाले नै लतिफालाई मोबाइल फोन दिलाएकी थिइन् । जसमार्फत उनले बाथरुमबाट गोप्य रूपमा आफ्नो जेल समान जीवनको व्याख्या गर्दै भिडियो खिचेको बीबीसीको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

त्यसमा भनिएको छ, ‘बीबीसी प्यारानोमाले स्वतन्त्र रूपमा लतिफाको अवस्थाबारे सुनिश्चित गरेको थियो । उनलाई ३० जना प्रहरीले गार्ड गरिरहेका थिए र उनको लोकेसन समुद्र किनारबाट केही मिटरको दूरीमा थियो । तर, उनी अझै त्यहीँ छन् भन्ने पक्का छैन ।’

डकुमेन्ट्रीको अर्को भिडियोमा उनले भनेकी छन्, ‘म हरेक दिन यहाँ आफ्नो सुरक्षालाई लिएर चिन्तामा बाँचिरहेकी छु । प्रहरीहरुले मलाई धम्की दिने गरेका छन् कि अब मैले कहिल्यै सूर्यको प्रकाश देख्न पाउने छैन । म यहाँ सुरक्षित छुइनँ ।’

उनकी साथी टिनाले पनि डकुमेन्ट्रीमा आफ्नो कुरा राख्दै लतिफाका लागि एकदमै चिन्तित भएको बताएकी छन् । उनले भनेकी छन्, ‘लतिफा एकदम पहेंली भएकी छन् । उनले महिनौंदेखि घाम देखेकी छैनन् । उनी केबल आफ्नो कोठाबाट किचन र त्यहाँबाट फेरि आफ्नो कोठामा मात्र फर्कन पाउँछिन् ।’

२०१८ मा लतिफाको भाग्ने प्रयास असफसल भएपछि त्यही वर्ष डिसेम्बरमा लतिफालाई संयुक्त राष्ट्रसंघको मानवअधिकारका कमिसनर मेरी रोबिन्सनले उनलाई भेटेकी थिइन् । आयरल्यान्डकी पूर्व राष्ट्रपति रोबिन्सनसँगको उनको तस्बिर पनि सार्वजानिक भएको थियो । तर, पछि रोबिन्सनले भाग्न खोजेकामा लतिफाले पछुतो जनाएको भनेर उल्लेख गरेपछि मानवअधिकारवादी अभियन्ताहरुबाट उनी आलोचित भएकी थिइन् । खबरका अनुसार रोबिन्सन त्यातिबेला शासक परिवारकै अनुरोधमा लतिफालाई भेट्न गएकी थिइन् ।

यता, दुबई सरकार र यूएईले भने लतिफाको अहिलेको अवस्थाबारे कुनै प्रतिक्रिया जनाएको छैन । उनीहरुले सधैँ राजकुमारी आफ्नो परिवारका साथमा तिनको माया र रेखदेख पाएर बसिरहेको बताउँदै आएका छन् । यो भिडियो सार्वजनिक भएपछि विश्वभरबाट यसबारे अनुसन्धान गर्न भनेर संयुक्त राष्ट्रसंघ समक्ष अपिल भइरहेको छ । बीबीसी

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार