गायक प्रेमध्वज प्रधानको निधन

२३ वैशाख, काठमाडौं । वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । उनको बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा निधन भएको हो ।

छातीमा समस्या देखिएपछि केही दिन अगाडि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । ८४ वर्षीय प्रधानको उपचारका क्रममा निधन भएको संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले अनलाइनखबरलाई जानकारी दिए ।

‘मलाई भाउजूले नै फोन गर्नुभएको थियो । केही समय अगाडि मात्र उहाँको निधन भएको हो । म अस्पताल आइपुगेको छु,’ उनले भने ।

प्रेमध्वजको जन्म १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा भएको थियो । उनलाई नेपाली सांगीतिक क्षेत्रमा ‘गोल्डेन भ्वाइस’ उपनामले पनि चिनिन्छ ।

सन् १९६५ मा प्रेमध्वजले उषा मंगेश्करसँग नेपाली चलचित्र ‘माइतीघर’मा गीत गाएका थिए । यस्तै उनले आशा भोस्लेसँग ‘मायालु इन बम्बे’ नामक चलचित्रमा पनि स्वर दिएका छन् ।

सन् १९५२ मा प्रेमध्वजले १६ वर्षकै उमेरमा ‘याद कसैको आइरहन्छ यो अन्धेरी रातमा’ बोलको गीत रेकर्ड गराएका थिए ।

प्रधानका यो नेपाली शिर उचाली, पर लैजाऊ फूलहरु, घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँको, तिमीलाई अचेल कहाँ भेटौंलगायतका दर्जनौं गीत चर्चित छन् । अनलाइन खबर बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent